काठमाडौं । डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् प्रयोग गरी महसुल नतिर्ने उद्योगीलाई बक्यौता तिर्न दिएको अल्टिमेटम आज सकिँदै छ ।
प्राधिकरणले २४ असोजमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुनबमोजिम असुल उपर गर्ने चेतावनी दिएको थियो । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ । तर केही उद्योगीले बिजुलीको महसुल तिर्न अटेर गर्दै आएका छन् ।
प्राधिकरण प्रवक्ता चन्दनकुमार घोष उद्योगीहरूले बक्यौता नतिरेको अवस्थामा के गर्ने भन्ने विषय नियमअनुसार नै प्रक्रियामा जाने बताउँछन् । ‘उद्योगीलाई बक्यौता तिर्न दिएको म्याद बिहीबार सकिँदै छ । यस अवधिमा उद्योगीले बक्यौता नतिरेमा नियमअनुसार नै थप प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘बिहीबार प्राधिकरणको सञ्चालक समिति बैठक बस्दै छ । त्यसबाट यस सम्बन्धमा उचित निर्णय हुन्छ होला ।’ विद्युत् प्राधिकरण ऐन, २०४१ मा उपभोक्तालाई प्राधिकरणले बिल उपलब्ध गराएको ६० दिनसम्म पनि बक्यौता नतिरे लाइन काट्ने कानुनी व्यवस्था छ ।
साझा अर्थ संवाददाता