काठमाडाैः उष्णकटिबन्धीय आँधी जाङ्मीका कारण परेको लगातार भारी वर्षाले जापानको टोकियो क्षेत्रसहित पूर्वी र मध्य भागमा बाढीको जोखिम निकै बढेको छ। बुधबार आँधी उत्तरपूर्वतर्फ सर्दै गर्दा राजधानी क्षेत्रमा दैनिक जनजीवन अस्तव्यस्त भएको छ। सडक यातायात ठप्प, सयौं उडान रद्द, रेल सेवा प्रभावित र पाँच हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध भएको टोकियो इलेक्ट्रिक पावर कम्पनीले जनाएको छ।
टोकियोको जेनपुकुजी नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। स्थानीय टेलिभिजनले नदीको माटोमिश्रित पानी जोखिमपूर्ण स्तरभन्दा माथि उठेको दृश्य प्रसारण गरेका छन्। जापान मौसम विज्ञान एजेन्सीका अनुसार आँधीसँग ९० किलोमिटर प्रतिघण्टाको निरन्तर हावा छ। पूर्वी र मध्य जापानका विभिन्न क्षेत्रमा उच्च बाढी चेतावनी जारी गर्दै नदी किनार, पहिरो र डुबान जोखिम क्षेत्रका मानिसलाई उच्च भूभागतर्फ जान भनिएको छ।
मध्य जापानको ओवासे क्षेत्रमा पछिल्लो २४ घण्टामा करिब ५० सेन्टिमिटर वर्षा मापन भएको छ। टोकियोसहित केही क्षेत्रमा बिहीबार बिहानसम्म थप २० सेन्टिमिटर वर्षा हुनसक्ने अनुमानले बाढी र भूक्षयको जोखिम अझ बढाउने छ। यसअघि दक्षिणी टापु ओकिनावामा आँधीले कम्तीमा १५ जनालाई सामान्य घाइते बनाएको थियो। एक समय टाइफुनको स्तरमा पुगेर १२६ किलोमिटर प्रतिघण्टा हावा मापन भएको यो आँधी अहिले केही कमजोर भए पनि दिनभर उष्णकटिबन्धीय आँधीको स्तर कायम रहने पूर्वानुमान छ। मौसमविद्ले बासिन्दालाई सतर्क रहन र स्थानीय प्रशासनका निर्देशन पालना गर्न आग्रह गरेका छन्।




