काठमाडाैः अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्याउने डुङ्गामाथि ‘आत्मरक्षात्मक’ कारबाही गरेको छ। राष्ट्रपति ट्रम्पले वार्ता ‘सकारात्मक’ रहेको दाबी गरिरहेकै बेला यो घटनाले युद्धविरामको नाजुक अवस्थामा सैन्य तनाव र कूटनीति दुवै अघि बढेको संकेत गरेको छ।
अमेरिकी सेनाका अनुसार यो कारबाही ‘इरानी सेनाबाट उत्पन्न जोखिम’ नियन्त्रणका लागि गरिएको हो। इरानले औपचारिक प्रतिक्रिया दिएको छैन, तर आफ्ना संसद्का अध्यक्षलाई कतार पठाएको छ। इरानी सञ्चारमाध्यमले बन्दर अब्बास क्षेत्रमा विस्फोट भएको जनाएको छ भने एक वेबसाइटले चारजना गार्ड सैनिक मारिएको बताएको छ।
यी घटनाले एक सातादेखिको युद्धविरामलाई अस्थिर बनाउने खतरा बढाएको छ। हर्मुज जलघाँटी क्षेत्रमा अस्थिरताले विश्व ऊर्जा बजारलाई प्रत्यक्ष असर गर्ने चिन्ता छ।
ट्रम्पले वार्तालाई क्षेत्रीय ढाँचासँग जोड्दै साउदी अरेबिया, पाकिस्तानलगायत देशलाई ‘अब्राहम सम्झौता’ मा सहभागी गराउनुपर्ने प्रस्ताव अघि सारेका छन्। तर साउदीले प्यालेस्टिनी राज्यको माग दोहोर्याइरहेको छ भने पाकिस्तानको इजरायल मान्यताको नीति परिवर्तन भएको छैन। विज्ञहरूका अनुसार यो प्रस्तावले चलिरहेको कूटनीतिमा नयाँ जटिलता थपेको छ, यद्यपि संवाद पूर्ण रूपमा अवरुद्ध भने भएको छैन। इरानसँगको सहमति कहिले र कसरी हुन्छ भन्ने स्पष्ट छैन, तर ट्रम्पले भविष्यमा इरान आफैं पनि सम्झौतामा सहभागी हुन सक्ने सम्भावना औंल्याएका छन्।