गण्डकी, १८ जेठ : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख डिल्लीराज भट्टले अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा सो कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभएको छ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। यसअघि सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। यो कार्यक्रमले प्रदेशको विकास, अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा पूर्वाधार क्षेत्रको दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ।
प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु भएको थियो। यसबीचमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताका विषयमा विस्तृत छलफल भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। सांसदहरूले प्रदेशका जनताका माग र अपेक्षालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आउनुपर्नेमा जोड दिएका छन्।