काभ्रेपलाञ्चोक, १९ जेठ : मनसुनजन्य विपद्का कारण काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेका छन्। सोमबार जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो। बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले स्थानीय तहगत रूपमा जोखिमयुक्त बस्तीको प्रतिवेदन पेस गर्नुभएको थियो।
प्रतिवेदनअनुसार ४७९ बस्ती उच्च जोखिममा छन्, २०९ बस्ती खुला स्थानमा छन्, र १९२ बस्ती सुरक्षित मानिएको छ। उद्धारका लागि ८१ बस्तीमा हेलिप्याडको व्यवस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उच्च जोखिमका बस्तीलाई तत्काल स्थानान्तरण गर्न नसकिने तर आवश्यक निगरानी र ‘क्विक रेस्पोन्स’ को तयारी रहेको बताउनुभयो। उहाँका अनुसार जिल्लामा पर्याप्त उद्धार सामग्री छैन।
बैठकमा स्थानीय तहलाई युवालक्षित विपद् प्रतिकार्य तालिम दिन र राहत, उद्धारका लागि आवश्यक सामग्री खरिद गरी तयार रहन अनुरोध गरिएको छ। रोशी, सुनकोशी, इन्द्रावती, झिकुखोलालगायत तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक यस वर्षको बाढीपहिराबाट प्रभावित हुने प्रक्षेपण गरिएको छ।