काठमाडौँ, १९ जेठः नेपालको अन्तरराष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको प्रमुख प्रविधि तथा आर्थिक केन्द्र शेन्जेनसँग काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ। कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालन गर्ने घोषणा गरेको हो। यो सेवा नेपाल–चीन हवाई सम्पर्क विस्तारको दिशामा महत्त्वपूर्ण कदम मानिएको छ।
नयाँ सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तरराष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन हुनेछ। कम्पनीका अनुसार काठमाडौँबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार उडान हुनेछ भने शेन्जेनबाट काठमाडौँ फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ। यात्रुको मागका आधारमा भविष्यमा उडान सङ्ख्या थप्ने योजना कम्पनीले बनाएको छ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु अन्तरराष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हिमालय एयरलाइन्सले चीनका विभिन्न सहरसँग नेपाललाई जोड्ने प्रयास निरन्तर गर्दै आएको छ। शेन्जेन उडानले नेपाल र चीनबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेछ।” उहाँले यसले पर्यटन, व्यापार तथा लगानीका अवसर विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
चीनको ‘सिलिकन भ्याली’ का रूपमा परिचित शेन्जेन विश्वका प्रमुख प्रविधि, उत्पादन तथा नवप्रवर्तन केन्द्रमध्ये एक हो। नयाँ हवाई सेवाले व्यापारिक यात्रु, पर्यटक, विद्यार्थी तथा लगानीकर्तालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। हिमालय एयरलाइन्सले यात्रुलाई सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।