कास्की, २० जेठ: पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनको सम्भावना बलियो बनेको छ। विश्वप्रसिद्ध हवाई सेवा कम्पनी फ्लाइ दुबाईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेट गरी पोखरामा उडान भर्न इच्छुक रहेको बताएका छन्।
मंगलबार भएको सो भेटमा दुबई–पोखराबीच पर्यटन प्रवर्द्धन, हवाई सुरक्षा मापदण्ड, र अन्तरराष्ट्रिय उडान सञ्चालनका विषयमा छलफल भएको महानगर प्रमुख आचार्यले जानकारी दिए। उड्डयन क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव रहेका लुकाजले सुरक्षा व्यवस्थापन र एयरलाइन सञ्चालनमा विशेषज्ञता हासिल गरेका छन्।
उनले पोखराको प्राकृतिक सुन्दरताबाट प्रभावित भएको बताउँदै फ्लाइ दुबाईले यहाँ उडान सुरु गरेमा पोखरा तथा सम्पूर्ण गण्डकी प्रदेशको पर्यटन विकासमा ठूलो टेवा पुग्ने धारणा राखे। नियमित अन्तरराष्ट्रिय उडानले दुई देशबीच पर्यटन आदानप्रदानमा सहजता हुने उनको भनाइ छ।
प्रमुख आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थल नियमित अन्तरराष्ट्रिय उडानका लागि सक्षम रहेको बताउँदै यसका लागि निरन्तर पहल भइरहेको उल्लेख गरे। विभिन्न समयमा चार्टर उडान भइसकेकाले विमानस्थलको क्षमता प्रमाणित भइसकेको उनको भनाइ छ। आचार्यले भने, “पोखरा पर्यटनको राजधानी हो, अन्तरराष्ट्रिय बजारमा यसको प्रवर्द्धनका लागि सिधा उडान आवश्यक छ।”
उल्लेखनीय छ, रु २२ अर्बको लागतमा चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन भए पनि हालसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन। यो विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ।




