काठमाडाैः उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई थप तीव्र बनाउँदै हतियार-स्तरको युरेनियम उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ। राज्य सञ्चारमाध्यम केसीएनएका अनुसार नेता किम जोङ उनले भर्खरै उक्त सुविधाको भ्रमण गरी दीर्घकालीन उत्पादन योजनाबारे जानकारी लिनुभएको हो।
दक्षिण कोरियाली सेनाले यसलाई युरेनियम संवर्धन केन्द्रको रूपमा मूल्याङ्कन गरेको छ र अमेरिकासँग नजिकको समन्वय भइरहेको जनाएको छ। तस्बिरहरूमा सेन्ट्रिफ्युजले भरिएको ठूलो हल देखिन्छ, जसले उत्तर कोरियाको आणविक क्षमता विस्तार भइरहेको सङ्केत गर्दछ। केसीएनएको दाबीअनुसार हतियार-स्तरको आणविक सामग्री उत्पादन क्षमता पाँच वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ, यद्यपि यो स्वतन्त्र पुष्टि भएको छैन।
किमले अमेरिका नेतृत्वको सुरक्षा चुनौतीलाई आणविक क्षमता विस्तारको औचित्यका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ। सन् २०१७ यता कुनै आणविक परीक्षण नगरे पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको छ। अनुमानअनुसार उत्तर कोरियासँग हाल २० देखि १०० भन्दा बढी आणविक हतियार हुन सक्नेछ, र वार्षिक ६ देखि १८ थप हतियार उत्पादन गर्ने क्षमता रहेको छ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले उत्तर कोरियाका आणविक केन्द्रहरूमा गतिविधि उल्लेखनीय रूपमा बढेको पुष्टि गरेका छन्। सन् २०१९ मा अमेरिकासँगको वार्ता विफल भएपछि उत्तर कोरिया वार्ताभन्दा आफ्नो आणविक क्षमता विस्तार र आधुनिकीकरणमा केन्द्रित भएको विश्लेषकहरूको ठहर छ।