पात्रो

रेडियो

समाचार खोजी

बाँझो जग्गामा सामूहिक आलुखेती

साझा अर्थ संवाददाता २६ माघ २०८१, शनिवार

खोटाङ, २६ माघः यहाँको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३३ घर किसानले बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका छन् । स्थानीय मिलीजुली कृषक समूहले आहालटारको ६० रोपनी बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका हुन् । 

“रु १५ हजारमा जग्गा भाडामा लिइएको छ”, मिलीजुली कृषक समूहका अध्यक्ष गजेन्द्र राईले भन्नुभयो, “सामूहिक आलुखेती गर्न सङ्घीय सरकारले रु १५ लाख बजेट उपलब्ध गराएको छ । यो वर्ष कम्तीमा एक सय मुरी आलुको बीउ रोप्ने योजना बनाएका छौँ ।” हालसम्म ८० मुरी आलुको बीउ रोपिसकिएको उहाँले जानकारी दिनुभयो । 

एक सिजनमा सरदर ५० हजार किलो आलु फलाउने लक्ष्य लिइएको सो वडाका वडाध्यक्ष मिलन राईले बताउनुभयो । प्रतिमुरी रु चार हजारका दरले खरिद गरिएको भोटाङ्गे, नाम्जुङ्गे र धराने जातको आलु रोपिएको हो । आलुखेतीमा प्रतिट्र्याक्टर रु छ हजारका दरले खरिद गरिएको गाईभैँसीको मल प्रयोग गरिएको छ । 

गाउँपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आलु खेती सुरु गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । “पहिलो चरणमा सङ्घीय सरकारबाट प्राप्त बजेटबाट सामूहिक खेती सुरु गरिएको छ । आगामी दिनमा गाउँपालिकाले बजेट विनियोजन गरेर सामूहिक आलुखेतीलाई निरन्तरता दिने योजना छ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादित आलु भण्डारणका लागि यसै वर्ष भवन निर्माण गर्ने योजना छ । उत्पादित आलु भण्डारण गरेर बिक्री वितरण गर्न गाउँपालिकाले सहयोग गर्छ ।”

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु