पात्रो

रेडियो

समाचार खोजी

सिङ्गापुरको राहदानी विश्वकै शक्तिशाली, नेपालको स्थानमा सामान्य सुधार

साझा अर्थ संवाददाता २१ जेठ २०८३, बिहिवार

काठमाडौँ, २१ जेठ: विश्वका देशहरूको राहदानी को वर्गीकरण गर्ने अन्तर्राष्ट्रिय संस्था ‘हेन्ली एन्ड पार्टनर्स’ ले सन् २०२६ को नयाँ पासपोर्ट इन्डेक्स सार्वजनिक गरेको छ। नयाँ सूचकाङ्क अनुसार एशियन मुलुक सिङ्गापुरको राहदानी पुनः विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिङ्गापुरका नागरिकले पूर्वभिसा बिना विश्वका १९२ देशमा सहजै यात्रा गर्न सक्छन्।

यस वर्षको सूचकाङ्कमा नेपालको स्थानमा केही सुधार देखिएको छ। गत वर्ष १०१औँ स्थानमा रहेको नेपाल यस वर्ष ९५औँ स्थानमा उक्लिएको छ। नेपाली पासपोर्ट वाहकले विश्वका ३५ देशमा अन-अराइभल वा भिसा-फ्री पहुँच पाउने गर्दछन्। नेपालको यो स्कोर उत्तर कोरियासँग मिल्दोजुल्दो रहेको छ।

नयाँ वरीयता अनुसार विगतमा शीर्ष १० बाट बाहिरिएको संयुक्त राज्य अमेरिका यस पटक १७९ भिसा-फ्री स्कोरका साथ पुनः १०औँ स्थानमा फर्कन सफल भएको छ। सूचकाङ्कको दोस्रो स्थानमा जापान र दक्षिण कोरिया रहेका छन्।

त्यस्तै, छिमेकी देश भारत यस वर्ष ८०औँ स्थानमा रहँदा कुल २४ स्कोर मात्र पाएको अफगानिस्तान सूचकाङ्कको सबैभन्दा पुछारमा (१०१औँ स्थानमा) रहेको छ। हेन्ली पासपोर्ट इन्डेक्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघ को विशेष तथ्याङ्कका आधारमा हरेक वर्ष विश्वका १९९ पासपोर्ट र २२७ गन्तव्यहरूको मूल्याङ्कन गरी यो सूची तयार पार्ने गर्दछ।

5 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्