पात्रो

रेडियो

समाचार खोजी

चक्रपथमा विद्युतीय बस सेवा विस्तार

साझा अर्थ संवाददाता २१ जेठ २०८३, बिहिवार

काठमाडौँ, २१ जेठ: महानगर यातायात प्रालिले चक्रपथमा १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि सुरु भएको यो सेवाले उपत्यकाको सार्वजनिक यातायातलाई थप आधुनिक, हरित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

नयाँ बसहरू ३३ सिट क्षमताका छन् भने यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा आरामदायी सिटले सुसज्जित छन्। प्रालिका अनुसार विद्युतीय बसको सञ्चालन खर्च डिजेल बसको तुलनामा कम हुँदा राम्रो आम्दानी हुने गरेको छ।

शशिला मोटर्स प्रालिले चीनबाट आयात गरेका यी बसहरूमा १४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री जडान छ। एक पटक पूर्ण चार्ज गरेपछि करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ। प्रत्येक बसको मूल्य एक करोड ३१ लाख ९० हजार रुपैयाँ छ।

कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले विद्युतीय सवारीको विकल्प अनिवार्य बन्दै गएको र यस क्षेत्रमा थप लगानी गर्ने योजना रहेको बताए। सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ विद्युतीय बस सफलतापूर्वक सञ्चालन भइसकेको र अहिले थप गरिएको जानकारी दिए।

शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले ठूला विद्युतीय बसको प्रवर्द्धन आजको आवश्यकता भएको बताए। महानगर यातायात प्रालिले हाल उपत्यका र बाहिर गरी १४० भन्दा बढी सवारीबाट सेवा दिइरहेको छ।

42 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्