काठमाडौँ, १४ जेठ : नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा सम्पन्न भएको छ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा आयोजित बैठकमा समग्र सम्बन्ध र सहकार्यको समीक्षा गर्दै सम्पन्न भएकाे हाे ।
दुवै पक्षले लामो समयदेखिको मित्रता र साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। नेपाली पक्षले स्विस पक्षलाई नेपालको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाबारे जानकारी गराउँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, डिजिटल रूपान्तरण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई नयाँ सरकारको प्राथमिकता रहेको बतायो। जलविद्युत्, पर्यटन र सूचना प्रविधि क्षेत्रको विकास मुख्य आर्थिक लक्ष्य रहेको पनि जानकारी दिइयो।
नेपाली पक्षले स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसनमार्फत नेपाललाई निरन्तर प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दै सङ्घीयता कार्यान्वयन, झोलुङ्गे पुल, आप्रवासन व्यवस्थापन, सामुदायिक वन, प्राविधिक शिक्षा र विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिमा स्विट्जरल्याण्डको सहयोगको प्रशंसा गर्यो। साथै, नेपालको प्राथमिकताअनुसार सहयोगको दायरा विस्तार गर्न आग्रह गरियो।
जलवायु परिवर्तनलगायत साझा चासोका विषय र बहुपक्षीय मञ्चमा सहकार्यबारे पनि विचार आदानप्रदान भयो। दुवै पक्षले प्रस्तावित समझदारीपत्र र सम्झौताहरू शीघ्र निष्कर्षमा पुर्याउने सहमति जनाए।
बैठकमा नेपालतर्फ सहसचिव गणेशप्रसाद ढकाल र स्विट्जरल्याण्डतर्फ मार्कस लाइटनरले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व तथा सहअध्यक्षता गरेका थिए। सोही दिन स्विस प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अमृतबहादुर राईसँग शिष्टाचार भेट गरी बैठकका उपलब्धिप्रति सन्तोष व्यक्त गरेको थियो। संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा सन् २०१५ नोभेम्बर ४ मा हस्ताक्षर भएको थियो।




