पात्रो

रेडियो

समाचार खोजी

बजेटअघि आज आर्थिक सर्वेक्षण पेश हुँदै, अर्थतन्त्रको वास्तविक अवस्था देखिने

साझा अर्थ संवाददाता १३ जेठ २०८३, बुधवार
समाचार सारांश
  • आज अर्थमन्त्रीले संसदमा सरकारको आर्थिक सर्वेक्षण पेश गर्दैछन्।
  • यो बजेटअघिको प्रमुख दस्तावेज हो जसले वर्तमान आर्थिक अवस्था र आगामी बजेटको प्राथमिकतालाई संकेत गर्छ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ : आगामी आर्थिक वर्षको बजेट आउनुअघि आज सरकारको आर्थिक सर्वेक्षण संसदमा पेश हुँदैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गर्ने कार्यसूची रहेको छ।

आर्थिक सर्वेक्षणलाई बजेटअघि सार्वजनिक हुने सरकारको प्रमुख आर्थिक दस्तावेजका रूपमा हेरिन्छ। यसमा चालू आर्थिक वर्षको आर्थिक अवस्था, सरकारी खर्च, राजस्व, उत्पादन, व्यापार, लगानी, बैंकिङ क्षेत्र, रोजगारी, कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रको प्रगति र चुनौती समेटिने गर्छ।

संघीय संसद सचिवालयको कार्यसूचीअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। राष्ट्रियसभाको बैठक भने दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तय भएको छ। राष्ट्रियसभामा पनि अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ।

बजेट जेठ १५ गते प्रस्तुत हुने भएकाले त्यसअघि आउने आर्थिक सर्वेक्षणले सरकारको बजेट प्राथमिकता बुझ्न महत्वपूर्ण संकेत दिनेछ। अर्थतन्त्र कुन क्षेत्रमा सुधार हुँदैछ, कहाँ दबाब छ र सरकारले कुन विषयलाई प्राथमिकतामा राख्न सक्छ भन्ने आधार यस दस्तावेजबाट देखिने अपेक्षा गरिएको छ।

निजी क्षेत्र, लगानीकर्ता र नीति विश्लेषकका लागि पनि आर्थिक सर्वेक्षण विशेष चासोको विषय हो। राजस्व संकलन, पूँजीगत खर्च, आयात–निर्यात, मूल्यवृद्धि, वित्तीय प्रणाली र उत्पादन क्षेत्रको अवस्थाले आगामी बजेटको दिशा र बजार मनोविज्ञानमा प्रभाव पार्न सक्छ।

आजको संसद बैठकमा आर्थिक सर्वेक्षणसँगै अन्य विधेयक र प्रस्तावसम्बन्धी कार्यसूची पनि समावेश छ। तर बजेट नजिकिँदै गएको अवस्थामा सबैभन्दा बढी चासो सरकारको आर्थिक समीक्षा र आगामी बजेटको संकेततर्फ केन्द्रित हुने देखिन्छ।

149 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ