कुमारी बैङ्कको नेतृत्वमा ऋण-पूँजी व्यवस्था
२०८८ असारसम्म उत्पादन लक्ष्य
सुदूरपश्चिमको विकासमाथि ठूलो प्रभाव पार्ने अपेक्षा
काठमाडौँ: सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन कुमारी बैङ्क लिमिटेडको नेतृत्वमा हुने भएको छ । आयोजनाको प्रवर्धक कम्पनी समृद्धि इनर्जी लिमिटेड र कुमारी बैङ्कबीच शुक्रबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र समृद्धि इनर्जीका अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गर्नु भएकाे थियाे ।
आयोजनाको वित्तीय व्यवस्थापनमा कुमारी बैङ्कले अगुवाई गर्दै एनएमबी बैङ्कले सहनेतृत्व गरेको छ । यसका साथै माछापुच्छ्रे बैङ्क, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराईज बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, प्रभु बैङ्क, नेपाल एसबिआई बैङ्क, एनआइसी एशिया बैङ्क, कृषि विकास बैङ्क, लुम्बिनी विकास बैङ्क, साङ्ग्रिला डेभलपमेन्ट बैङ्क, कामना सेवा विकास बैङ्क र आइसिएफसि फाइनान्सले सहवित्तीय व्यवस्थापन गर्नेछन् ।
करिब ४१ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुने यस आयोजनाको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीको अनुपातमा वित्तीय व्यवस्थापन गरिएको छ । अर्ध जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित यस आयोजनाको डिजाइन डिस्चार्ज ३४.१ घन मिटर प्रति सेकेन्ड रहेको छ भने ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.६ मिटर रहेको छ । आयोजनाबाट वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा छ ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता भइसकेको यस आयोजनाले आगामी पाँच वर्षभित्र पूरा गरी २०८८ सालको असार ३१ गतेभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित विद्युत् २२० केभी स्विचयार्ड र ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ ।
स्थानीय स्तरमा पूर्वाधार विकास, रोजगारी सिर्जना र सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा यस आयोजनाले ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ । आयोजना पूरा भएपछि सुदूरपश्चिमको ऊर्जा आत्मनिर्भरतामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।