काठमाडौं, अषाढ ३१ – न्यूनतम चुक्ता पूँजी मापदण्ड नपुगेका दलाल कम्पनीहरूलाई पूँजी व्यवस्था गर्न नेपाल धितोपत्र बोर्डले थप ९ महिनाको समय दिएको छ। यसअघि असार मसान्त २०८२ भित्र पूँजी मापदण्ड पुरा गर्नुपर्ने समयसीमा तोकिएको थियो। तर आज अषाढ ३१ गते सो म्याद सकिँदै गर्दा अर्थ मन्त्रालयको स्वीकृति पश्चात नेपाल धितोपत्र बोर्डले चैत मसान्त २०८२ सम्म समय थप गरेको हो।
बोर्डले गत साता बसेको बैठकमा समय थपको निर्णय गरेको थियो। २३ वटा दलाल कम्पनीहरूले तोकिएको पूँजी मापदण्ड अझै पूरा नगरेपछि बोर्डले ८ पुस २०८१ मा ती कम्पनीहरूलाई पूँजी वृद्धिको योजना बुझाउन निर्देशन दिएको थियो। त्यसैको आधारमा नियमावली संशोधनको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको थियो, जुन सोमबार पारित भएको हो।
नेपाल धितोपत्र बोर्डका अनुसार कम्पनीहरूले लाभांशबाट पूँजी जुटाउन नसकेमा नयाँ पूँजी प्रवाह गर्नुपर्नेछ, अथवा गाभ्ने प्रक्रिया अपनाउनु पर्नेछ।
२०७९ साल भदौमा भएको संशोधन अनुसार नयाँ दलाल लाइसेन्स पाउने कम्पनीहरूका लागि पूँजी मापदण्ड यस्ता छन्:
सीमित कारोबार गर्ने दलाल: रु. २० करोड
पूर्ण कारोबार गर्ने दलाल: रु. ६० करोड
स्टक डिलर: रु. १ अर्ब ५० करोड
यस मापदण्ड अनुसार हालसम्म ४२ वटा दलाल कम्पनीहरूले लाइसेन्स पाएका छन्। तर, पुराना कम्पनीहरूका लागि तोकिएको असार मसान्तको समय सकिए पनि पूँजी अपुग देखिएपछि अब उनीहरूले चैत २०८२ सम्मको अन्तिम मौका पाएका छन्।
साझा अर्थ संवाददाता