दोलखाः बैतेश्वर गाउँपालिका केन्द्र राजमार्गसँग जोडिएको छ । वडा नम्बर छ को नाम्दुबाट ३ किलो मिटर पक्कि सडक निर्माण सम्पन्न भएसँगै गाउँपालिका केन्द्र पाँडु डाँडा राजमार्ग सँग पक्की सडकले जोडिएको हो ।
तिन आर्थिक वर्ष लगाएर लामोसाँघु–जिरी सडक खण्ड अन्तर्गत नाम्दुबाट पालिका केन्द्र सम्म पक्की सडकले जोडिएको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताउनुभयो । यसका साथै पालिका केन्द्र पाँडु डाँडाबाट मैना पोखरी बजार जोड्ने सडक पक्की बनाउने काम समेत क्रमस भइरहेको अध्यक्ष लामाको भनाई रहेको छ ।
चार मिटर चौँडाई रहेको ३ किलोमिटर लामो सो सडकको केही भागका कालो पत्रे गरिएको छ भने अधिकाँस भागमा ढलान गरिएको बैतेश्वर गाउँपालिकाका योजना शाखा प्रमुख विश्वास घिमिरेले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष सम्ममा लगातार तीन आर्थिक वर्षमा पालिका केन्द्र जोड्ने सडक निर्माण सम्पन्न भएको उहाँको भनाई रहेको छ । अब सो सडकका किनारामा माटो भर्ने लगायतका काम हुने उहाँले बताउनु भयो ।
बैतेश्वर गाउँपालिकाको तथ्याङ्क अनुसार पहिलो वर्ष ३ करोड, दोस्रो वर्ष २ करोड ७० लाख तथा तेस्रो वर्ष १ करोड १० लाखको लागतमा नाम्दु–पाँडुडाँडा सडक निर्माण सम्पन्न भएको हो । गाउँपालिका जोड्ने सो सडक निर्माणबाट गाउँपालिका केन्द्रबाट जिल्ला सदरमुकाम आउने दुरी समेत छोटिएको गाउँपालिकाले जनाएको छ । केन्द्र तथा प्रदेशसँग समन्वय गर्दै सबै वडा केन्द्र देखि गाउँपालिका केन्द्रलाई पक्की सडकले जोड्न गाउँपालिका लागिरहेको अध्यक्ष छवि लामाको भनाई रहेको छ ।
साझा अर्थ संवाददाता