काठमाडौं, २० असारः भारतको उत्तर प्रदेशको वाराणसीमा रहेको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा आज शनिबार मन्दिरको सुरक्षामा खटिएका एक पिएसी (प्रादेशिक सशस्त्र प्रहरी) जवानको बन्दुकबाट अचानक गोली चल्दा तीन जना घाइते भएका छन् । मन्दिरको गेट नम्बर–४ नजिक सो घटना भएको हो ।
त्यहाँ ड्यूटीमा रहेका पिएसी जवानको कार्बाइन (एक प्रकारको बन्दुक) अचानक जमिनमा खस्यो र त्यसबाट गोली चल्दा गोली सडकमा लागेपछि उछिट्टिएर त्यसका छर्रा दुई पसले र अर्का एक व्यक्तिलाई लागी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घाइते हुनेहरूको पहिचान निक्की गुप्ता, रामबाबू र विकास यादवका रूपमा भएको बताइएको छ । उनीहरूलाई हात र खुट्टामा चोट लागेको छ । तीनै जनालाई नजिकैको कबीरचौरा अस्पतालमा भर्ना गरिएको नवभारत टाइम्सले जनाएको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
दुर्घटना हुँदा मन्दिर परिसरमा भक्तजनहरू पूजाका लागि फूल र माला किनिरहेका थिए। गोलीको आवाज सुन्नासाथ वरपरका मानिसहरूमा त्रास फैलिएको थियो । तर, प्रहरीले तुरुन्तै अवस्थालाई नियन्त्रणमा लिई घाइतेहरूलाई अस्पताल पुर्यायो।
प्रहरीले घटनाको छानबिन सुरु गरेको छ । पिएसी जवानलाई प्रहरी चौकीमा लगिएको छ र उसलाई सोधपुछ गरिँदै छ । प्रहरीले कार्बाइन कसरी जमिनमा खस्यो र गोली कसरी चल्यो भन्नेबारे अनुसन्धान गरिरहेको बताइएको छ ।
काशी विश्वनाथ मन्दिर भारतको एक अति महत्त्वपूर्ण धार्मिक स्थल हो, जहाँ दैनिक हजारौं भक्तजन दर्शनका लागि आउँछन् । मन्दिरको सुरक्षाका लागि कडा पहराको व्यवस्था रहने गरेको छ । यो घटनाका कारण केही बेरका लागि त्रास फैलिए पनि अहिले सबै कुरा सामान्य भइसकेको प्रहरीले जनाएको छ ।