काठमाडौँ, १८ असार: नेपाल सरकारका पूर्वसचिव एवं वरिष्ठ सहरी योजनाकार किशोर थापा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्त हुनुभएको छ। त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले उहाँलाई यस गरिमामय पदमा नियुक्त गर्नुभएको हो। अध्यक्षसँगै सेवा आयोगको सदस्यमा प्राध्यापक डाक्टर रेजिना मास्के नियुक्त हुनुभएको छ। त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले आवेदनहरूको मूल्याङ्कन गरी सङ्क्षिप्त सूचीमा परेका तीन जनामध्येबाट थापाको नाम सिफारिस गरेको थियो।
वास्तुकला र सहरी विकास विज्ञका रूपमा स्थापित थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न मन्त्रालयहरूको नेतृत्व सम्हाल्दै विशिष्ट योगदान पुर्याउनुभएको छ। उहाँले आफ्नो सेवाकालीन अवधिमा सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जल तथा ऊर्जा आयोगको सचिवालयमा सचिवको जिम्मेवारी वहन गरिसक्नुभएको छ। यसका साथै उहाँले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको विज्ञ सदस्यका रूपमा समेत काम गर्नुभएको थियो। हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडीजमा आबद्ध थापा काठमाडौँ विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँको यस नियुक्तिले विश्वविद्यालयको सेवा व्यवस्थापन र संस्थागत विकासमा प्रशासनिक र प्राविधिक सहयोग पुग्ने विश्वास गरिएको छ।