काठमाडौँ, १८ असारः नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्ने भएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन गरि सर्बेक्षण गर्ने जनाएको हो ।
वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा सबै प्रकारका स्थानीय तह समेटेर ‘र्यान्डम स्याम्पलिङ’ विधिबाट वडा छनोट गरी १० हजार ४०५ नमूना सङ्कलन गर्ने बैंकले जनाएको छ ।
सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवासम्बन्धी वित्तीय ग्राहकहरूको धारणा र अनुभव सङ्कलन गरिने छ । सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास रहेको छ ।