दोलखा, १८ असारः दोलखाको प्रशिद्ध पर्यटकीय स्थल शैलुङमा रहेको मिनी ग्रेटवालमा यात्रा गर्न प्रवेश शुल्क तिनु पर्ने भएको छ । शैलुङ गाउँपालिकाले प्रतियात्रु पचास रुपैयाँ शुल्क तोकेको हाे ।
आर्थिक वर्ष २०८३/०८४ को लागि गाउँसभाबाट स्वीकृत आर्थिक ऐन, २०८३ बमोजिम साउन १ गतेदेखि यो शुल्क लिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जिव न्यौपानेले जानकारी दिनुभयो ।
प्रवेश शुल्कबापत प्रत्येक आगन्तुकले ५० रुपैयाँ तिर्नुपर्नेछ । सो शुल्क मिनी ग्रेटवालको नियमित मर्मत तथा सरसफाइका लागि उपयोग गरिने गाउँपालिकाले जनाएको छ । यस पर्यटकीयस्थलको संरक्षण र व्यवस्थापनमा आगन्तुकको सहयोग जुटाउने उद्देश्यले यो व्यवस्था गरिएको बताइएको छ । विद्यार्थी र जेष्ठ नागरिकहरूलाई भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
त्यस्तै, शैलुङ गाउँपालिका (दोलखा), मेलुङ गाउँपालिका (दोलखा) र दोरम्बा शैलुङ गाउँपालिका (रामेछाप) का स्थायी बासिन्दाहरूलाई भने पूर्ण रूपमा शुल्क छुट दिइएको छ । यस अघि पनि शुल्क तोकेकोमा ब्यापक विरोध भएपछि शैलुङ गाउँपालिकाले मिनी ग्रेटवालमा तोकेको शुल्क फिर्ता लिएको थियो ।