पात्रो

रेडियो

समाचार खोजी

इराकमा क्लोरिन ग्याँस चुहावटका कारण छ सयभन्दा बढी तीर्थयात्री अस्पताल भर्ना

साझा अर्थ संवाददाता २५ साउन २०८२, आइतवार

करबला (इराक), २५ साउन (रासस/एएफपी) :   इराकमा छ सयभन्दा बढी तीर्थयात्रीलाई पानी प्रशोधन केन्द्रमा चुहावटको परिणामस्वरूप  सास फेर्दा श्वासप्रश्वासको समस्याका कारण अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले आइतबार बताएका छन् ।    
    
 इराकको मध्य र दक्षिणमा अवस्थित दुई शिया पवित्र सहर नजफ र करबलाबीचको मार्गमा रातभरि यो घटना भएको हो ।    
    
 यस वर्ष, लाखौँ शिया मुस्लिम तीर्थयात्री करबलामा जाने अपेक्षा गरिएको छ । त्यहाँ पूजनीय इमाम हुसेन र उनका भाइ अब्बासका मन्दिरहरू छन् ।    
    
 त्यहाँ उनीहरूले ४० दिनको शोक अरबाइन मनाउनेछन् । यसमा शियाहरूले पैगम्बर मोहम्मदका नाति हुसेनको मृत्युको सम्झना गर्छन् ।    
    
 एक संक्षिप्त बयानमा इराकको स्वास्थ्य मन्त्रालयले ‘करबलामा क्लोरिन ग्यास चुहावटपछि श्वासप्रश्वासका छ सय २१ वटा घटना दर्ता भएको’ बताएको छ ।    
    
 “सबैले आवश्यक हेरचाह पाएका छन् र स्वस्थ अवस्थामा अस्पतालबाट निस्किएका छन्”, विज्ञप्तिमा भनिएको छ ।    
    
 यसैबीच तीर्थयात्रीहरूको सुरक्षाका लागि जिम्मेवार सुरक्षा बलले उक्त घटना ‘करबला–नजफ सडकमा रहेको पानी केन्द्रबाट क्लोरिन चुहावट’ भएको बताएको छ ।    
    
 दशकौँको द्वन्द्व र भ्रष्टाचारका कारण इराकका धेरैजसो पूर्वाधार जीर्ण अवस्थामा छन् । सुरक्षा मापदण्डहरूको पालना प्रायः शिथिल रहन्छ ।    
    
 जुलाईमा पूर्वी सहर कुटको एक सपिङ मलमा भएको ठूलो आगलागीमा ६० भन्दा बढी मानिसको ज्यान गएको थियो । तीमध्ये धेरै जनाको शौचालयमा श्वास फेर्न नसकेर मृत्यु भएको अधिकारीहरूले बताएका थिए ।    
---  

171 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु