काठमाडाैः निजी क्षेत्रले बनाउने अहिलेसम्मकै ठूलो हाइड्रोमा लगानी सम्झौता भएको छ। साहस उर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने ३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनामा बिहीबार लगानी सम्झौता भएको हो। यो आयोजना निजी क्षेत्रबाट सञ्चालित हुने सबैभन्दा ठूलो परियोजना हो।
अर्थमन्त्री विष्णु पौडेल, उर्जा मन्त्री दीपक खड्का लगायतको उपस्थितिमा बिहीबार लगानी सम्झौता भएको हो। कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० वटा बैंक तथा वित्तीय संस्थाले आयोजनामा लगानी गर्ने गरि सम्झौता भएको हो। वित्तीय व्यवस्थापनको लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिड बैंक रहेको छ भने सहायक लिड बैंकको रुपमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंक रहेका छन्। आयोजनामा लगानी गर्ने अन्य संस्थामा एचआईडिसिएल, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, निफ्रा, प्रभु बैंक र कृषि विकास बैंक रहेका छन्।
अध्यक्ष पाठकका अनुसार आयोजनामा बैंक तथा वित्तीय संस्थाले कुल ५२ अर्ब ५० करोड लगानी गर्ने छन्। आयोजनाको कुल लागत रु ७० अर्ब रहेको छ। जसमा बैंकहरुले ७५ प्रतिशतले हुन आउने ५२ अर्ब ५० करोड लगानी गर्ने भएका हुन्।
जस अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० अर्ब, नबिल बैंकले ८ अर्ब, लक्ष्मी बैंकले ८ अर्ब, ग्लोबल आईएमई बैंकले ७ अर्ब, एचआईडिसीएलले ४ अर्ब, माछापुच्छ्रे बैंकले ४ अर्ब, निफ्राले ३ अर्ब, सिटिजन्स बैंकले ३ अर्ब , प्रभु बैंकले ३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड लगानी गर्ने गरि आज सम्झौता भएको हो।
बाँकि २५ प्रतिशत अर्थात् १७ अर्ब ५० करोड स्वपुँजी लगानी रहने छ। जसमा साहस उर्जाले ५१ प्रतिशत अर्थात् ८ अर्ब ९२ करोड लगानी गर्ने छ। साहस उर्जाका लगानीकर्ताले १० करोडसम्म संस्थापक शेयर लगानी गर्न पाउने गरि कम्पनीले संस्थापक शेयर पनि जुटाएको थियो।
यो आयोजना गोरखाको चुम नुब्री र धार्चे गाउँपालिकामा निर्माण हुने छ। यस आयोजनाको बाँध सल्लेरीमा निर्माण हुने छ भने त्यहाँबाट ६.८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत् उत्पादन हुनेछ। उत्पादन हुने विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ। यो प्रसारणलाइन एमसीसी अन्तर्गत निर्माण भईरहेको छ। आयोजना २०८७ सम्म सम्पन्न गर्ने लक्ष्य छ।