असार २२ गते, २०८२। माबिलुङ इनर्जी लिमिटेडले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि १ लाख ५० हजार ४७१ कित्ता साधारण सेयर (आईपीओ) आजदेखि विक्रिका लागि खुला गरेको छ। यो निष्कासन श्रावण ४ गतेसम्म खुला रहनेछ।
संखुवासभा जिल्लाका स्थानीयहरूका लागि तय गरिएको सेयर निष्कासन तोकिएको म्यादसम्म आवेदन नपरेमा श्रावण १९ गतेसम्म लम्ब्याउन सकिनेछ। तर, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि भने निष्कासन म्याद कुनै पनि हालतमा लम्ब्याइने छैन।
कम्पनीको जारी पुँजी ३८ करोड ५८ लाख रुपैयाँ रहेको छ। उक्त पुँजीको ४८.९९९८ प्रतिशत अर्थात् १८ लाख ९० हजार ५३० कित्ता सेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरिनेछ। सोही अनुपातअनुसार कुल निष्कासनको १० प्रतिशत अर्थात् ३ लाख ८५ हजार ८२४ कित्ता सेयर संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीयहरूका लागि छुट्याइएको हो। बाँकी ३८.९९९८ प्रतिशत अर्थात् १५ लाख ४ हजार ७०६ कित्ता सेयर सर्वसाधारणका लागि पछि खुला गरिनेछ।
यस सर्वसाधारण निष्कासनअन्तर्गत १० प्रतिशत अर्थात् १ लाख ५० हजार ४७१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ, जसको आवेदन आजदेखि खुला भएको हो।
आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू दुवैका लागि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यो आईपीओ निष्कासनको निष्कासन प्रबन्धकको जिम्मेवारी एलएस क्यापिटल लिमिटेडले लिएको छ।
आईसीआरए नेपालले माबिलुङ इनर्जी लिमिटेडलाई ‘आईसीआरएएनपी–आईआर बी प्लस’ को रेटिङ दिएको छ। यस रेटिङले वित्तीय दायित्व समयमा पूरा गर्न नसक्ने उच्च जोखिम रहेको संकेत गर्दछ।
माबिलुङ इनर्जी लिमिटेडको स्थापना २०७१ सालमा भएको हो भने कम्पनी २०७८ सालमा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीले संखुवासभा जिल्लामा ४.९५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। प्रारम्भिक लागत अनुमान ९३ करोड ७० लाख रुपैयाँ र ऋण–पुँजी अनुपात ७०:३० रहेको थियो। हाल लागत बढेको छ र नयाँ लागत विवरण पर्खाइमा रहेको जनाइएको छ। २०८१ सालको चैत मसान्तसम्ममा कम्पनीको जारी पुँजी १९ करोड ७० लाख रुपैयाँ रहेको छ, जुन सबै प्रवर्द्धकहरूले धितो दिएका छन्। प्रवर्द्धकहरूमा एशियन लाइफ इन्स्योरेन्स, गुह्येश्वरी मर्चेण्ट बैंकिङलगायतका संस्थाहरू रहेका छन्।
साझा अर्थ संवाददाता