पात्रो

रेडियो

समाचार खोजी

घोरहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा

साझा अर्थ संवाददाता १० असार २०८२, मङ्गलवार


    राष्ट्रिय समाचार समिति (रासस)   
घोराही (दाङ), १० असारः पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यका रूपमा ज्यामिरे दह विकास हुँदै गएको छ । घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दहमा दैनिक एक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।    
    
 अन्य दिनको तुलनामा भन्दा बिदाको दिनमा यहाँ आन्तरिक पर्यटक बढी आउने गरेका ज्यामिरे दह सामुदायिक उपभोक्ता समूहकी अध्यक्ष रिना बस्नेतले बताउनुभयो । उहाँका अनुसार अन्य समयमा ८० जनाको हाराहारीमा आन्तरिक पर्यटक आउनेमा बिदाका दिनमा एक सयभन्दा बढी आउने गरेका छन् ।    
    
 दहमा पानीको ताल ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ । ज्यामिरे दह सामुदायिक वन ४८३ दशमलव पाँच हेक्टर क्षेत्रफलमा अवस्थित छ । पर्यटकलाई आकर्षण गर्न यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना बनाइएको अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँका अनुसार दहलाई पर्यटकीय क्षेत्र बनाउन डुङ्गा सञ्चालन गरिएको छ ।    
    
 तालमा डुङ्गासहित पानीमा पौडन मिल्ने ‘लाइफ ज्याकेट’को व्यवस्था गरिएको डुङ्गा सञ्चालक आइते विकले बताउनुभयो । पछिल्लो समय डुङ्गा सवार गर्ने, पौडी खेल्ने र पिकनिक खान दैनिक आन्तरिक पर्यटक यहाँ आउने गरेका उहाँको भनाइ छ ।    
    
 “प्राकृतिक रूपमा रहेको तालको स्तरवृिद्ध गरी ड्याम निर्माण गरिएको छ । दह निर्माण भएसँगै सौन्दर्य हेर्न लायक बनेको पर्यटक बताउँछन् । ताल अवलोकनमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको मनोरञ्जनका लागि डुङ्गा सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।    
    
 डुङ्गा सञ्चालकका अनुसार बिदा र चाडपर्वको समयमा डुङ्गा सयर गर्नेको घुइँचो लाग्ने गर्दछ । डुङ्गा सयर गरेबापत प्रतिव्यक्ति रु एक सयको टिकटको व्यवस्था गरिएको जनाउँदै आइते डुङ्गामा ताल घुम्न १५ देखि ४० मिनेटसम्म लाग्ने बताउनुभयो ।    
    
 ज्यामिरे दह पर्यटकीय क्षेत्रका रूपमा विकास भएसँगै यहाँको व्यापार पनि बढ्न थालेको उहाँको भनाइ छ । दहमा दाङसहित बुटवल, नेपालगञ्ज, बर्दियाबाट पर्यटक आउने गरेका आइतेले जानकारी दिनुभयो ।    
    
 दहको विकासका लागि प्रतिक्षालय, खानेपानीलगायत पूर्वाधार विकास गर्न सके पर्यटकलाई सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने घोराही–१० की सनम डिसीले बताउनुभयो । “प्रतिक्षालय नहुँदा अत्यधिक गर्मी र पानी पर्दा बस्न समस्या हुने गरेको छ । यस क्षेत्रको विकास गर्न सके पर्यटकीय सम्भावना छन् । स्थानीयको आयस्रोत वृद्धि हुनुका साथै रोजगारीका अवसर सृजना हुनेछन्”, उहाँले भन्नुभयो ।    
    
 यहाँको पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले पहल गर्नुपर्नेमा घोराही–१५ की रेखा केसीले जोड दिनुभयो । वर्षायामको समय भएकाले यहाँको सौन्र्दय हेर्न, डुङ्गामा सयर गर्न आन्तरिक पर्यटक आउने भएकाले दहलाई थप व्यवस्थित गर्नुपर्ने उहाँले बताउनुभयो ।    

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता