पात्रो

रेडियो

समाचार खोजी

देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ

साझा अर्थ संवाददाता २२ जेठ २०८२, बिहिवार

नारायणगढ (चितवन), २२ जेठः धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा सुरु भएको छ । आज बिहान देवघाटस्थित बेणीमा गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरिएको हो ।    
    
 देवघाटस्थित महेश सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनानन्द गिरी, अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरी र डा गुरुप्रसाद सुवेदीलगायतले गण्डकी पूजा गरी यात्रा शुभारम्भ गर्नुभएको हो । जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचारप्रसार गरेर कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण तथा संवर्द्धनमा टेवा पु-याउने उद्देश्यले नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताको अगुवाइमा पदयात्रा सुरु गरिएको पदयात्राका संयोजक फणीन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।    
    
पौडेलका अनुसार पदयात्राका क्रममा देवघाटधाम–केलादीघाटधाम–राम्दीधाम–ऋषिकेशधाम–रुद्रवेणीधाम–सेतीबेनीधाम–मोदीबेनीधाम–गलेश्वरधाम–कागबेनीधाम–मुक्तिनाथधाम– दामोदरकुण्डधाममा विशेष पूजा एवं जागरणसभा हुने छ । उहाँले भन्नुभयो, “ऐतिहासिक पदयात्रामा सहभागी हुन चाहने सबै भक्तजन मुख्य तीर्थहरूमा हुने विशेष गण्डकी पूजन र जागरण सभामा सहभागी बन्न सक्नुहुनेछ ।”    
    
यात्रामा दैनिक आठ घण्टा २० किलोमिटरसम्म यात्रा गरिने जनाइएको छ । नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा गुरुप्रसाद सुवेदीले कालीगण्डकीको महिमा जनमानसमा पु-याउने यात्राको उद्देश्य भएको बताउनुभयो । गण्डकीको किनारमा भएका विभिन्न धार्मिक स्थलहरुका संरक्षण एवं प्रवर्द्धनमा यात्राले सहयोग पुग्ने उहाँको भनाई छ । जीवन जिउने आधार प्राकृतिक स्रोत सम्पदा भएको उल्लेख गर्दै नदीलगायतको संरक्षणमा सबै जुट्नुपर्ने उहाँले बताउनुभयो ।    
    
देवघाटस्थित महेश सन्यास आश्रमको संयोजनमा आजजेखि शालिग्राम करिडोरको ४३१ किलोमिटर दूरीको पदयात्रा सुरु भएको हो । समुद्री सतहबाट २२० मिटर देखि चार हजार ९९० मिटर उचाइ सम्म २२ देखि २५ दिन यात्रा गरिनेछ ।    

208 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ