काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सेयर बजारप्रति लचिलो बनेको छ । नयाँ व्यवस्थाबाट विशेषगरी सेयर धितो राखेर ठूला कर्जा लिने लगानीकर्तालाई सेयर बजारमा सहज हुने भएको छ ।
आइतबार साँझ सार्वजनिक मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैङ्कले सेयर कर्जामा जोखिम भार एक सय प्रतिशत कायम गरेको छ । यसअघि सेयर कर्जा जोखिम भार १२५ प्रतिशत थियो । राष्ट्र बैङ्कको यो निर्णयसँगै अब बैङ्क तथा वित्तीय संस्थाले पहिलेभन्दा कम मात्र जोखिम भार कायम गर्नुपर्ने भएको छ ।
सेयर धितो कर्जाको जोखिम भार घटाउनका लागि सेयर बजारका लगानीकर्ताहरुले लामो समयदेखि माग उठाउँदै आएका थिए ।
जोखिम भार घटेसँगै समग्र पूँजी बजारमा कर्जा विस्तार क्षमता बढ्ने अपेक्षा गरिएको छ । जसले गर्दा सुस्ताएको कर्जाको ग्राफ पनि बढ्ने देखिएको छ । यस्तै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत अनिवार्य नगद मौज्दात गणना व्यवस्थामा सामान्य परिमार्जन गरिएको छ ।
मौद्रिक सूचकहरूले क्रमशः सकारात्मक लय समाउँदै गर्दा आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ ।
यस्तै नीतिगत दरलाई विद्यमान पाँच प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप सङ्कलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोर अन्तरगतको माथिल्लो सीमाको रुपमा रहेको बैङ्क दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ । विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई भने यथावत राखिएको छ ।
वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय राष्ट्र बैङ्कले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैङ्क तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ ।
लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी ‘नेपाल राष्ट्र बैङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमाबली, २०७८’ जारी गरिने भएको छ ।
यस्तै बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिने मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ ।
पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सन्तुलित बनाइएको छ । आन्तरिक आर्थिक गतिविधि, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता एवम् मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरी मौद्रिक उपायहरुमा आवश्यकतानुसार परिमार्जन गरिने मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ ।
साझा अर्थ संवाददाता