सिद्धार्थ केबलकार लिमिटेडले चैत्र १९ गते साधारणसभा बोलाएको छ । साधारणसभामा कम्पनीले हाल कायाम चुक्ता पुँजी १२७.५ करोडको १ः१।७५ को अनुपातमा १७५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गर्ने भएको छ । कम्पनीले १५० करोड चुक्ता पुँजी रहने गरि आफ्नै मातहतमा लगानी मुलक कम्पनी स्थापना गर्ने प्रस्ताव पनि गरेको छ।
कम्पनीले प्रभु केवलकार एण्ड टुरिजम सहित प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड, प्रभु होल्डिङ्गस एण्ड हाइड्रो डेभलपमेण्ट कम्पनी लिमिटेड र हाइड्रो होल्डिङ्गस एण्ड पावर डेभलपमेण्ट कम्पनी लिमिटेडसंग गरेको सम्झौतालाई कम्पनीको नियमावलीको नियम ५० मा समावेश गरि कार्यान्वयन गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने छ। त्यस्तै आवश्यकता अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि कम्पनीले सभामा पेश गर्ने छ।
यस कम्पनीले बुटवल उपमहानगरपालिकाबाट पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटसम्म केवलकार संचालन गरिरहेको छ । निर्माणकै क्रममा रहेको यो केवलकार गएको दसैंबाट अनौपचारिक सञ्चालन गरिएको छ । नुवाकोटलाई थप पर्यटकीय आकर्षक बनाउने र बटम स्टेशनमा पनि आकर्षक बनाएर सकिएपछि आगामी २०८२ वैशाख १ गते औपचारिक उद्घाटन गर्ने कम्पनीको तयारी छ ।
कम्पनीले हकप्रद निष्काशनपछि आईपीओ निष्काशनको तयारी पनि गरेको छ ।
साझा अर्थ संवाददाता