पात्रो

रेडियो

समाचार खोजी

संवाद र सहकार्यमार्फत केबलकार निर्माण प्रक्रियालाई अघि बढाउन आग्रह

साझा अर्थ संवाददाता २९ माघ २०८१, मङ्गलवार

ताप्लेजुङ, २९ माघः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । 

    फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता, संवाद र सहकार्यमार्फत अघि बढाएर वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।

    नगरप्रमुख अमिर मादेनले ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य रहेको बताउँदै विद्यमान समस्या छलफल र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । केबलकार, पाथीभरा आउने तीर्थयात्रीको सुविधाका लागि मात्रै सीमित नभई यसले रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने उहाँले बताउनुभयो । 

    स्थानीय सरकारका रूपमा स्थानीयको आन्तरिक आम्दानी बढाउने, रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने दायित्व नगरको भएकाले लगानीकर्तालाई प्रोत्साहन गरिएको मादेनले बताउनुभयो । उहाँले ‘नो केबलकार’ समूहलाई सार्थक संवादमा आउन र जिल्लाको समृद्धिमा सहयोग पु¥याउन आग्रह गर्नुभयो । उहाँले निर्माणमा अवरोध नगरी भावि सन्ततिका लागि सहमतिमा आउन नो केबलकार समूहलाई आग्रह गर्नुभयो ।
     
    पत्रकार सम्मेलनमा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका महासचिव कमल लिम्बूले केबलकार निर्माणमा एकमत हुनु आवश्यक रहेको बताउनुभयो । केबलकार निर्माण हुनुपर्छ भन्नेमा आफूहरूको मत रहेको भन्दै उहाँले विकास निर्माणमा अवरोध नगर्न ‘नो केबलकार’ समूहलाई आग्रह गर्नुभयो । 

    गैरसरकारी संस्था महासङ्घका अध्यक्ष खड्गविक्रम सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला सचिव सन्तोष चाम्लिङ, इसाई समाजका अर्जुन कार्कीलगायत वक्ताले विद्यमान समस्या र विवाद छलफल र वार्ताका माध्यमबाट समाधान गरेर विकास निर्माणमा एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । 
 
    फुङ्लिङ नगरपालिकाअन्तर्गतका विभिन्न वडाका वडाध्यक्ष मोहन न्यौपाने, टङ्क पालुङ्वा, दुर्गाप्रसाद पालुङ्वा, मदन गुरूङ, योगेन्द्रप्रसाद निरौला, लक्ष्मण गुरूङ, युवराज भट्टराईलगायत स्थानीय जनप्रतिनिधिहरूले सहमति र वार्तामार्फत केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।  
 
    पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर पछिल्लो समय विरोध हुँदै आएको छ । मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समितिलगायत सङ्घसंस्थाले केबलकार निर्माणको विरोध गरिरहेका हुन् ।

    यसअघि सरकारसँग भएका वार्ता, संवाद निष्कर्षविहीन भएपछि नगरपालिकाले पत्रकार सम्मेलन गरी निर्माणको वातावरण बनाउन र सार्थक वार्ता संवादमा आउन ‘नो केबलकार’ समूहलाई आग्रह गरेको हो । नगरपालिकाले विभिन्न पक्षसँग संवाद गरी सहमतिका आधारमा परियोजनालाई अघि बढाउने योजना रहेको जनाएको छ ।रासस

163 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता