दोलखाः बैतेश्वर गाउँपालिका वडा नम्बर चार झगर्पुरका मह उत्पादक कृषक पोष्ट बहादुर दाहाल आफ्नो बाल्य काल सम्झदै भन्नुहुन्छ “ मलाई सानै देखि मौरी असाध्यै मन पर्थ्यो । एकदिन बाटामा दुईमाना जति मौरी भेटियो । त्यसलाई जसो–तसो घरमा लिएर आई खोपामा हालें । त्यसपछि विस्तारै मौरी पालन तर्फ रुचि बढ्यो अहिले यो नै पेशा बन्न पुगेको छ ।”
सुरुमा बाटामा भेटिएका मौरी खोपामा राखेको केही समयपछि मौरी सम्बन्धी टुकी तालिम लिएका गाउँकै एकजनाको सहयोगमा आधुनिक घारमा मौरी सारेपछि उहाँको रुचि ब्यावसायीक मौरी पालन तर्फ बढ्यो । मौरीका घारहरु थप्दै जानुभयो । ३०–३५ घार पुगेका थिए तर २०७२ सालमा गएको आमविनाशकारी भुकम्पमा परी बस्ने घर मात्र हैन मौरी पनि सखाप भएको तितो अनुभव उहाँको छ ।
“ भुकम्पले घर भत्कियो मौरी सखाप भए ” दहालले भन्नु भयो,“ केही समय पछि एउटा घारमा कताबाट फेरी मौरी आएर बसे । सोही घारमा १८ केजी मह उत्पादन भयो । त्यसपछि भने यसैलाई पेशा बनाउने निश्कर्ष निकाली मौरी पालनमा लागें ।”
अहिले दहाल ग्यालेक्सी मौरी फार्म दर्ता गरी मौरीपान ब्यावसायमा ब्यस्त हुनु हुन्छ । घर वरिपरी करिब चार सय मौरिका घार छन् । एकहजार घार पुर्याउने आफ्नो लक्ष्य रहेको उहाँले बताउनु भयो ।
कुटसहित प्रति किलोग्राम पन्द्रसय रुपैयाँमा आफूले मह विक्री गर्ने गरेको दहालको भनाई रहेको छ । आफू सहित पाँच जनाले फर्ममा रोजगारी प्राप्त गरेको बताउनुहुने दाहालले खर्च कटाएर वर्षको ६–७ लाख खुद आमदानी गर्न सफल भएको बताउनु भयो ।
सात दिन देखि महिना दिनसम्मको मौरी पालन तालिम लिनु भएका दहाल अहिले रामेछाप, सिन्धुपाल्चोक तथा गृह जिल्ला दोलखाका विभिन्न स्थानमा मौरी विज्ञको रुपमा तालिम दिन समेत जाने गर्नु भएको छ । आधुनिक मौरीघार समेत उहाँको फर्मले उत्पादन गर्ने गरेको छ । मौरी सहितको घार साँढे आठ देखि नौ हजार रुपैयाँ सम्ममा आफुले विक्री वितरण गर्ने गरेको उहाँको भनाई छ । आफ्नो फमबाट मौरीघार खरिद गरी ब्यावसायिक रुपमा मौरी पालन गर्नेहरुकालागि उहाँले निःशुल्क आधारभूत तालिम तथा सरसल्लाह समेत दिने गर्नु भएको छ ।
अहिले गाउँनै जंगलले ढाक्न लागेकोले मौरीकालागि फूलहरु प्रसस्त फूल्ने अवस्था रहेकोले जाँगर भएका कृषकले सिप सिकेर मौरी पालन गर्ने हो भने घाटामा नजाने तर रहर मात्र गरी मेहनत नगर्नेहो भने यो ब्यावसायबाट लाभ नुहुने उहाँको अनुभव छ । जाँगर गरी मौरी पालन ब्यावसाय गरे युवाहरु खाडीमा जानु पर्ने अवस्था नरहेको दहाल बताउनु हुन्छ ।

विशेष गरी वर्षायाम र चिसोमा मौरीको विशेष ख्याल गर्न नसके बच्चा कुहिने रोग तथा अरिंगालबाट हुने क्षति यो ब्यावसायमा सबै भन्दा ठूलो चुनौति भएको उहाँले बताउनुभयो । मौरीमा जटिलखालका समस्या आउँदा आफूले चितवन तथा गोदावरीका मौरी विज्ञसँग सल्लाह लिने गरेको दहालको भनाई छ ।
उचित मात्रा मिलाएर उपचार गर्न सके मलाहगिरी, बोझो, तुलसी, फर्सीको झोल लगायतका वस्तुवाट मौरीलाई लाग्ने रोगको उपचार गर्न सकिने उहाँको अनुभव छ । जाडो याममा मौरीलाई कृतिम खाना, जाडोबाट बचाउने उपाय गर्न समेत मौरीपालक सचेत हुने पर्ने उहाँको कृषकहरुलाई सुझाव छ ।
विदेशबाट मह अयात गर्न बन्द गर्ने, अनुदान दिँदा वास्तविक मौरी पालन ब्यावसायी कृषकलाई छनोट गरी अनुदान दिने, मौरी पालन तथा महउत्पादनसँग सम्बन्धी उपकरणहरु सहजरुपमा महउद्यमीहरुले प्राप्त गर्ने अवस्थाको सिर्जना राज्यबाट गर्ने हो भने मौरी पालन ब्यावसायबाट राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।

साझा अर्थ संवाददाता