सुदूरपश्चिममा तीन सातादेखि ठप्प रहेको राजस्व संकलन कार्य सुचारु हुने भएको छ । प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१ जारी गरैसँगै राजस्व संकलन सुचारु हुने भएको हो ।
प्रदेशको मन्त्रिपरिषद् बैठकले कर संकलन सम्बन्धी अध्यादेश पारित गर्दै प्रदेश प्रमुखसमक्ष गरेको सिफारिस प्रदेश प्रमुख नजिर मियाँले बिहीबार अध्यादेश प्रमाणिकरण गरेका छन् । सरकारले राजस्व संकलन गर्न पाउने व्यवस्थासहित अध्यादेश ल्याईएको आर्थिक मामीला मन्त्री बहादुरसिंह थापाले बताए । अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरू यथावत राखिएको छ ।
प्रदेश सभाबाट बजेट पारित हुन नसकेपछि १ साउनदेखि राजस्व संकलन र खर्च गर्न पाएको छैन । अर्को बजेट नआउँदासम्म अध्यादेशअनुसार गत वर्षकै करका दरका आधारमा प्रदेशमातहतका निकायले अब कर संकलन गर्न पाउनेछन् । गत आर्थिक वर्षको साउनमा प्रदेशले करिब १२ करोड राजस्व संकलन गरेको थियो ।
साझा अर्थ संवाददाता