नेपाली बजारमा अमेरिकी डलरको मूल्य निरन्तर बढ्दै गएको छ । बुधबार नेपाली मुद्रा बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३६.०३ रुपैयाँ र बिक्रीमूल्य १३६.६३ रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च हो । केन्द्रीय बैङ्कका अनुसार आज पनि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ।
मंगलबार डलरको खरिद मूल्य १३५.९० रुपैयाँ र बिक्रीमूल्य १३६.५० रुपैयाँ पुगेर रेकर्ड ब्रेक भएको थियो । बुधबार मूल्य ०.१३ पैसाले बढेर पुनः रेकर्ड राखेको हो । नेपाली मुद्रा भारतीय मुद्रासँग पेग ९विनिमयदर स्थिर० छ । सोहीकारण, भारतमा डलरको मूल्य बढ्दा नेपालमा बढ्ने र भारतमा घट्दा नेपालमा पनि घट्छ । पछिल्लो समय विभिन्न कारणले भारतीय बजारमा डलरको मूल्य बढेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ । ट्रम्प राष्ट्रपतिमा विजयी भएको भोलिपल्ट अर्थात् २२ कात्तिकमा नेपाली बजारमा डलरको मूल्य २८ पैसाले बढेको थियो । २१ कात्तिकमा डलरको खरिद मूल्य १३४.२८ रुपैयाँँ र बिक्रीमूल्य १३४.८८ रुपैयाँ थियो । २२ कात्तिकमा डलरको खरिद मूल्य १३४.५६ रुपैयाँ र बिक्रीमूल्य १३५.१६ रुपैयाँ पुगेको थियो । ट्रम्पको विजयी भएपछि डेढ महिनामा नेपाली बजारमा डलरको मूल्य १.४७ रुपैयाँ बढेको देखिन्छ ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएको मनोविज्ञानका कारण डलरको मूल्य बढेको छ ।
साझा अर्थ संवाददाता