कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिएको छ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरेको हो ।अब लगानीकर्ताले कर्णाली डेभलपमेन्ट बैंकको शेयर किनबचे गर्न पाउने छैनन् । नेप्सेले बैंकको संस्थापक शेयरको कारोबार पनि रोक्का गरेको छ।
सर्वसाधारणको पाँच अर्ब १८ करोड रुपैयाँ निक्षेप जम्मा भएको कर्णाली विकास बैंक समस्याग्रस्त घोषित भएको हो । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले यो बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो । कर्णाली विकास बैंकबाट हालसम्म तीन अर्ब ६९ करोड ९२ लाख कर्जा प्रवाह भएको छ ।
गत ६ साउनदेखि ११ साउनसम्म केन्द्रीय बैंकले कर्णालीमा लक्षित निरीक्षण गरेको थियो । निरीक्षण प्रतिवेदनले समस्याउन्मुख देखाएपछि गत ११ मंसिरमा ६ महिनाभित्र नयाँ व्यवस्थापनले वित्तीय परिसूचकमा सुधार गर्ने सर्तमा थप निक्षेप संकलन गर्न, नयाँ खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको थियो ।
बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ ।
समूहले ११ पुसदेखि नै बैंकको जिम्मेवारी सम्हाल्नेछ ।
साझा अर्थ संवाददाता