पात्रो

रेडियो

समाचार खोजी

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा बितरण, मन्त्री यादवद्धारा सुभारम्भ

साझा अर्थ संवाददाता २२ असोज २०८१, मङ्गलवार

 काठमाडौँ, २२ असोज : काठमाडौँ उपत्यकामा आज असोज २२ गतेदेखि मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको सुभारम्भ गर्नु भएको छ ।

सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न पानी बितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट पानी बितरण प्रक्रिया सुरु गरीने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रशाद लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्री ज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेर सम्म पानी पठाउने विषयमा बसेको बार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ । अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी बितरण शाखामा पठाइएको छ ।”

मेलम्चीको पानी अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा आइसकेकाले अब काठमाडौँ उपत्यकावासीका धारा धारा पानी वितरण सुरु गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीको सफा अनि शुद्ध पानी आईपुगेको छ, अब केही समयमै नागरिकका धारा धारामा पठाउछौँ ।” खानेपानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको बार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमती भएपछि आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो ।

दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेर त्यहाँका संघर्ष समितिसँग बार्ता गरेको थियो । बार्तापछि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडाँै उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ । बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहदै आएको छ । मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो । बिसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौँ उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ । दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याइनेछ । तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौँ ल्याउने भनिए पनि निर्माणको काम सुरु भएको छैन । मेलम्ची खानेपानीका लागि काठमाडौँ उपत्यकामा एक हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा ७ सय ६० किमिमध्ये करिब ७ सय किमि पाइप बिछ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ । आगामी पुस दोस्रो सातासम्म सबै पाइपलाइन विस्तार गरेर उपत्यकामा नयाँ नेटवर्कबाट पानी वितरण गर्ने योजना रहेको मेलम्ची उपआयोजना–२ ले जनाएको छ ।

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता