पात्रो

रेडियो

समाचार खोजी

बाढी पहिरोले कुन क्षेत्रमा कति क्षति ?

साझा अर्थ संवाददाता २० असोज २०८१, आइतवार

 

  बाढीपहिरो र डुबानले कृषि क्षेत्रमा करिब ६ अर्बभन्दा बढीको क्षति पुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रारम्भिक आकलन छ । बाढीपहिरोले ५८ हजार चार सय ७६ हेक्टरमा लगाइएको धानबाली, चार सय ५८ हेक्टरमा लगाइएको माछापोखरी, १३ सय हेक्टरमा लगाइएको अलैँची खेती, २२ हेक्टरको फलफूल बगैँचा, ८५ हेक्टरमा लगाइएको ३५ करोडको उखुखेती तथा चार हजार सात सय ४३ हेक्टरमा लगाइएको तरकारी बालीलाई पूर्ण क्षति पुर्‍याएको आकलन छ । २६ हजार दुई सयभन्दा बढी पशुपक्षीको मृत्यु भएको मन्त्रालयको प्रारम्भिक तथ्यांक छ । त्यस्तै, कृषिसँग सम्बन्धित भवन, कोल्डस्टोर, गोठलगायत सरकारी एवं निजी भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बाढीपहिरोले ८१ वटा औद्योगिक ग्राम र दुईवटा औद्योगिक क्षेत्रमा क्षति पुर्‍याएको छ । खासगरी घरेलु तथा साना उद्योग तथा व्यवसाय प्रभावित भएका छन् । पाटन औद्योगिक क्षेत्रमा १२ वटा उद्योगका मेसिन र औद्योगिक कच्चा पदार्थ तथा तयारी मालवस्तुमा क्षति भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, भक्तपुर औद्योगिक क्षेत्रमा चार लाख १९ हजारबराबरको औद्योगिक कच्चा पदार्थ तथा तयारी मालवस्तुमा क्षति भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार बाढीपहिरोका कारण ३४ वटा राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गएको थियो भने पाँचवटा राजमार्गमा पर्ने आठवटा पक्की पुल बगाएको छ । मन्त्रालयले अस्थायी यातायात खुलाउनै तीन अर्ब र दीर्घकालीन पुनर्स्थापना गर्न २५ अर्बजति लाग्ने अनुमानसमेत गरेको छ । त्यस्तै, बाढीपहिरोबाट जलविद्युत् क्षेत्रमा समेत गम्भीर धक्का लागेको छ । बाढीले देशभरका २६ जलविद्युत् गृहमा अढाई अर्ब रुपैयाँबराबरको पूर्वाधारमा क्षति पुर्‍याएको प्रारम्भिक आकलन छ । यसमध्ये ६२५।९६ मेगावाट विद्युत् उत्पादन भइरहेका ११ परियोजना छन् । निर्माणाधीन एक हजार १० मेगावाटजडित क्षमताका १५ परियोजनामा पनि क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सबैभन्दा ठुलो जलविद्युत्गृह माथिल्लो तामाकोशीमा अनपेक्षित क्षति भएको, तर यकिन विवरण संकलन भइसकेको छैन ।

374 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता