हितग्राही खाता नवीकरण शुल्क बुझाउन एनआईसी एशिया क्यापिटलको आग्रह
केवाईसी अद्यावधिक गर्न र डिम्याट खाताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य
साझा अर्थ संवाददाता१९ असार २०८३, शुक्रवार
14
Shares
साझा अर्थ संवाददाता
१९ असार २०८३, शुक्रवार
समाचार सारांश
एनआईसी एशिया क्यापिटलले हितग्राही खाता सञ्चालन शुल्क समयमै बुझाउन र केवाईसी विवरण अद्यावधिक गर्न ग्राहकहरूलाई आग्रह गरेको छ।
नयाँ तथा पुराना डिम्याट खाताका लागि राष्ट्रिय परिचयपत्र नम्बर र त्यसको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्ने जानकारी दिएको छ।
This summary was generated by AI and has been editorially reviewed.
काठमाडौं, असार १९ गते ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले हितग्राही खाता सञ्चालन शुल्क समयमै बुझाउन, ग्राहक पहिचान विवरण अर्थात् केवाईसी अद्यावधिक गर्न तथा डिम्याट खाताका लागि राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउन ग्राहकहरूलाई आग्रह गरेको छ।
क्यापिटलले सूचना जारी गर्दै आफ्नो अनलाइन सेवा, शाखा कार्यालयहरू तथा एनआईसी एशिया बैंक लिमिटेडका शाखा कार्यालयहरूमार्फत हितग्राही खाता खोल्ने खातावालाहरूले वार्षिक हितग्राही खाता सञ्चालन शुल्क बुझाउनुपर्ने जनाएको हो।
कम्पनीका अनुसार आर्थिक वर्षअनुसार बाँकी रहेको वार्षिक शुल्क असार मसान्तभित्र बुझाई हितग्राही खाता सुचारु राख्नुपर्नेछ। उक्त शुल्क एनआईसी एशिया बैंक लिमिटेड, थापाथली, काठमाडौंस्थित खातामा जम्मा गर्न सकिनेछ।
क्यापिटलले हितग्राही खाता सञ्चालन शुल्क जम्मा गर्दा सम्बन्धित हितग्राहीको पूरा नाम, हितग्राही नम्बर तथा आर्थिक वर्ष अनिवार्य रूपमा उल्लेख गर्न अनुरोध गरेको छ। शुल्क ई–सेवा, खल्ती, कनेक्ट आईपीएसलगायतका अनलाइन माध्यमबाट समेत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।
यसैगरी, क्यापिटलले हितग्राही खाता खोल्दा उपलब्ध गराइएको विवरणमा कुनै परिवर्तन भएमा केवाईसी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। केवाईसी फाराम क्यापिटलको वेबसाइटबाट डाउनलोड गरी आवश्यक विवरणसहित नजिकको शाखा कार्यालयमा बुझाउन सकिने जनाइएको छ।
त्यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको व्यवस्थाअनुसार नयाँ डिम्याट खाता खोल्दा तथा पुरानो डिम्याट खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर र त्यसको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्ने क्यापिटलले जनाएको छ।
बालबालिकाको नाममा डिम्याट खाता खोल्दा समेत सम्बन्धित बालबालिका तथा संरक्षक दुवैको राष्ट्रिय परिचयपत्र नम्बर र प्रतिलिपि आवश्यक पर्ने सूचनामा उल्लेख छ।
क्यापिटलले वार्षिक शुल्क भुक्तानी, केवाईसी अद्यावधिक तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण समयमै पूरा गरी सेवा निरन्तरता सुनिश्चित गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको छ।