दोलखाः छैटौँ संस्करणको दोलखा खुल्ला अन्तर्राष्ट्रिय चेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताव शनिवार सम्पन्न भएको हो ।
दोलखा चेस होमको आयोजनामा सम्पन्न प्रतियोगितामा क्लासिकलतर्फ रसियाका ग्राण्डमास्टर जिएम किरियाकोभ पेटले उपाधि जित्नु भएको छ । उहाँले नौ चरणको खेलमा ६ जित र ३ बराबरीसहित अपराजित रहँदै ७.५ अंक जोडेर प्रथम स्थान हासिल गर्नु भएको हो । समान ७.५ अंक जोड्नु भएका रसिया, भारत र नेपालका तीन खेलाडीबीच प्रोग्रेसिभ प्वाइन्टका आधारमा स्थान निर्धारण गरिएको थियो । किरियाकोभले ५४.५ प्रोग्रेसिभ प्वाइन्टसहित पहिलो स्थान हासिल गर्दै नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भयो । यस्तै भारतका अर्पण दासले ५३.५ प्रोग्रेसिभ प्वाइन्टसहित दोस्रो हुँदै ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नु भयो । नेपालका रिसोन थापाले ५१.५ प्रोग्रेसिभ प्वाइन्टसहित तेस्रो स्थान हासिल गर्दै ४० हजार रुपैयाँ प्राप्त गर्नु भयो ।
समान ७ अंक जोड्नु भएका खेलाडीमध्ये नेपालका सिएम पुरुषोत्तम सिलवाल चौथो, भारतका अंकित दास पाँचौँ तथा नेपालका धिरेन राई छैटौँ स्थानमा रहनु भयो । उहाँहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नु भयो ।
त्यस्तै, रापिड विधातर्फ भारतका राहुल गुरुङ उपाधि विजेता बन्नु भएको छ । उहाँले अन्तिम तथा नवौँ चरणमा नेपालका एफएम रुपेश जैसवाललाई पराजित गर्दै ७.५ अंकसहित शीर्ष स्थान हासिल गर्नु भयो । उहाँले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भयो ।
रापिडतर्फ रसियाका ग्राण्डमास्टर किरियाकोभ पेटले नेपालका आशिष फुँयालसँग बराबरी खेल्दै ७ अंकसहित दोस्रो स्थान हासिल गर्नु भयो । भारतका रनित मैतिले समान ७ अंक भए पनि प्रोग्रेसिभ प्वाइन्टका आधारमा तेस्रो स्थान हासिल गर्नु भयो ।
नेपालका एफएम रुपेश जैसवाल चौथो स्थानमा रहनु भयो । पाँचौँदेखि दशौँ स्थानसम्म भारत, बंगलादेश र नेपालका खेलाडीहरू क्रमशः रहनु भएको छ ।
प्रतियोगितामा शीर्ष १५ खेलाडीसहित उत्कृष्ट महिला, सिनियर, स्थानीय, युवा उमेर समूह तथा विभिन्न रेटिङ समूहका विजेतालाई कुल ६ लाख ७३ हजार रुपैयाँभन्दा बढी पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
चरिकोटस्थित सिम्पानी सभाहलमा सम्पन्न प्रतियोगितामा सात राष्ट्रका १४० अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहेको थियो ।