सिरहा: जाली नोटको ओसारपसार नियन्त्रण तथा आमनागरिकलाई सचेत गराउने उद्देश्यले सिरहामा ‘जाली नोट पहिचानसम्बन्धी सचेतना कार्यक्रम’ गरिएको छ ।
नेपाल राष्ट्र बैङ्क, जनकपुर कार्यालयको आयोजनामा आज जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा नेपाल प्रहरी, विभिन्न सङ्घ–संस्था, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि, व्यवसायी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्र बैङ्क, जनकपुर कार्यालयका निर्देशक डिलाराम सुवेदीले जाली नोटको पहिचान गर्ने तरिका, बजारमा देखिएका पछिल्ला प्रवृत्ति तथा जाली नोट नियन्त्रणका कानुनी व्यवस्थाबारे जानकारी गराउनुभयो ।
उहाँले पछिल्लो समय सीमावर्ती क्षेत्र हुँदै जाली नोट भित्र्याउने प्रयास बढ्दो देखिएकाले सचेतना कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाइएको बताउनुभयो । “नक्कली नोटको प्रयोग कानुनी अपराध हो । शङ्का लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुपर्छ”, सुवेदीले भन्नुभयो
बैङ्कका सहायक निर्देशक सुरेन्द्रकुमार साहले कार्यपत्र प्रस्तुत गर्दै नेपाली रुपैयाँ ५०० र एक हजार दरका नोटमा रहेका सुरक्षा विशेषताबारे जानकारी दिनुभयो । उहाँले सुरक्षा धागो, वाटरमार्क, इम्बोस प्रिन्ट, सिरियल नम्बर तथा कागजको गुणस्तर जाँच्ने तरिकाबारे व्यवहारिक अभ्यास गर्दै वास्तविक र जाली नोटबीचको सूक्ष्म भिन्नता छुट्याउनेबारे जानकारी गराउनुभयो ।
सहभागी बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले प्रविधिको प्रयोगमार्फत नोट परीक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयले आगामी दिनमा विद्यालय, सहकारी संस्था तथा ग्रामीण क्षेत्रमा समेत यस्ता सचेतनामूलक कार्यक्रम विस्तार गर्ने जनाएको छ । जाली नोटको जोखिम न्यूनीकरणका लागि समुदाय र प्रहरीबीचको सहकार्य अपरिहार्य रहेकामा जोड दिइएको थियो ।
जाली मुद्रासम्बन्धी कसुरमा मुलुकी अपराधसंहिता, २०७४ को दफा २५६ अनुसार पाँचदेखि दश वर्षसम्म कैद तथा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको जानकारी दिइएको थियो ।