पात्रो

रेडियो

समाचार खोजी

पुतली नाच नाचियाे

साझा अर्थ संवाददाता ४ माघ २०८२, आइतवार

 बागलुङ: हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । 

बाइसेचौबीसे राजाको पालादेखि नाचिदै आएको पुतली नाच अहिलेका युवा पुस्ताहरूमा पनि लोकप्रिय नै छ । वर्षमा एकपटकमात्रै नाचिने यस नाच एक दशक अगाडिसम्म चर्चामा थिएन । तर पछिल्लो समय बागलुङमै चर्चित छ । विभिन्न कपडा पहिरिएर पुतलीजस्तै बनेका व्यक्ति नाच्ने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएर बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । 

भल्कोट गाउँबाहेक अन्य कुनै पनि ठाउँमा यो नाच नाचेको पाइँदैन । बाइसेचौबीसे राज्यका सञ्चालनका समयमा राजा रानीको मृत्यु भएपछि स्थानीयले उनीहरूको स्मृतिमा पुतली नाच्न थालेका बूढाकापा बताउँछन् । स्थानीय नैनासिंह बुढामगरले माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने र ३ गते नाचिने बताउनुभयो ।
 
अघिल्लो दिन राजा, रानी र धाइमा गरी तीनवटा कपडाको पुतली बनाउने र बालक, युवा र वृद्धहरू पुतलीको पहिरन पहिरिएर बाजाको तालमा नाच्ने उहाँको भनाइ छ । पुतली नाच धेरै वर्ष पुरानो भए पनि अहिलेसम्म गाउँमा कुनै पनि दस्तावेज नभेटिएको बुढामगरले बताउनुभयो । यो नाच भल्कोट गाउँमाथिको जौँ बारीमा नाच्दै पुग्ने र उक्त ठाउँमा बन्दुक पड्काउने, पुलतीलाई डोलामा डुलाउने, नाच्ने र साँझ परेपछि निसीखोलामा पुर्याएर विर्सजन गर्ने उहाँको भनाइ छ ।

101 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ