काठमाडौं, असार ३० – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री नभएका हकप्रद सेयरहरूको लिलामी आज, असार ३० गते बन्द गर्दैछ। कम्पनीले असार २३ गतेदेखि लिलामी प्रक्रिया सुरु गरेको थियो। लिलामीमा प्रवर्द्धक समूहका ८०,२२२ कित्ता र सर्वसाधारण समूहका १,४४,५०६ कित्ता हकप्रद सेयर समावेश छन्, जुन वैशाख ३० देखि असार ३ गतेसम्म भएको हकप्रद निष्कासनमा बिक्री नभएका सेयरहरू हुन्।
कम्पनीले यसअघि १:०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। तर बाँकी रहेका सेयरहरू लिलामीमार्फत बिक्री गर्न लागिएको हो। लिलामी प्रक्रिया सिलबन्दी बोलपत्रमार्फत सञ्चालन भइरहेको छ। बोलकबोलकर्ताले प्रवर्द्धक समूहमा कम्तीमा १,००० कित्ता र सर्वसाधारण समूहमा कम्तीमा १०० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सीमा क्रमशः ८०,२२२ र १,४४,५०६ कित्तासम्म तोकिएको छ। प्रति सेयर न्यूनतम बोलकबोल मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्रहरू आजै बुझाउनुपर्नेछ।
साझा अर्थ संवाददाता