पात्रो

रेडियो

समाचार खोजी

डेनमार्कमा ‘अद्भुत’ भाइकिङ चिहान फेला

साझा अर्थ संवाददाता ३ असार २०८२, मङ्गलवार

आर्हस (डेनमार्क), ३ असार (रासस/एएफपी) :   एउटा आकस्मिक खोजमा उत्तरी डेनमार्कमा एउटा भाइकिङ कुलीन परिवारको हो भन्ने विश्वास गरिएको १०औँ शताब्दीको चिहान फेला परेको एक सङ्ग्रहालयले मङ्गलबार घोषणा गरेको छ । यो चिहान प्राचीन वस्तुहरूको ‘शानदार’ भण्डारले भरिएको छ ।    
    
 डेनमार्कको दोस्रो ठूलो सहर आर्हसबाट सात किलोमिटर उत्तरमा अवस्थित गाउँ लिस्बर्ज नजिकै निर्माण कार्यका क्रममा मोती, सिक्का, सिरेमिक र सुनको धागो भएको बक्स फेला परेपछि यो खोज आएको हो ।    
    
 पुरातत्वविद्हरूले १०औँ शताब्दीको उत्तरार्धमा प्रसिद्ध राजा हेराल्ड ब्लुटुथको शासनकालमा करिब ३० वटा चिहान भएको फेला पारेको आर्हसको मोस्गार्ड सङ्ग्रहालयले बताएको छ ।    
    
 सङ्ग्रहालयका पुरातत्त्वविद् म्याड्स रेभनका अनुसार चिहानहरू सम्भवतः भाइकिङ युगको कुलीन परिवारसँग जोडिएको छ । यो आठौँ र ११औँ शताब्दीको बीचमा चलेको थियो । यो फार्म सन् १९८० को दशकको अन्तमा चिहान स्थलबाट एक किलोमिटरभन्दा कममा फेला परेको थियो ।    
    
 “यो हाराल्ड ब्लुटुथको कुनै अर्ल वा भण्डारे हुनसक्छ”, रेभनले भन्नुभयो ।    
    
 रेभनका अनुसार आजको डेनमार्कमा इसाई धर्मको परिचय गराउने राजाले केही क्षेत्रहरू व्यवस्थापन गर्ने जिम्मा कुलीनहरूलाई दिएका थिए ।    
    
 अनुसन्धानकर्ताहरूले स्थलमा दाँत र हड्डीहरू जस्ता केही मानव अवशेषहरू पनि फेला पारेका छन् ।    
    
 “मानिसहरूले मूलतः उनीहरूका लागि महत्त्वपूर्ण कुराहरू चिहानमा लगे किनभने तिनीहरू यसलाई अर्को संसारमा हस्तान्तरण गर्न चाहन्थे”, पुरातत्त्वविद् रेभनले भन्नुभयो ।    
    
 वैज्ञानिकहरूले एक महत्वपूर्ण महिलाको भएको मानेको एउटा चिहानमा सजावटी वस्तुहरू र एक जोडी कैँची भएको बाकस थियो ।    
    
 रेभनका अनुसार यो ‘भव्य’ बाकस एक उल्लेखनीय खोज हो । यसअघि केही मात्र फेला परेका छन्, जसमा दक्षिणपूर्वी जर्मनीमा एउटा समावेश छ ।    
    
 “यो धेरै दुर्लभ छ, हामीलाई थाहा भएका केवल तीनवटा मात्र छन्”, उहाँले भन्नुभयो ।    
    
 लिस्बर्जमा उत्खनन यस हप्ता सम्पन्न हुनेछ । त्यसपछि विज्ञहरूले बरामद गरिएका वस्तुहरूको गहन विश्लेषण सुरु गर्नेछन् ।    
    
 विशेष गरी काठका वस्तुहरूले तिनीहरूलाई चिहान स्थलको सही मिति निर्धारण गर्न मद्दत गर्नेछ ।    
    
 एक शाही र व्यापारिक केन्द्रका रूपमा आर्हस भाइकिङ युगमा डेनमार्कका सबैभन्दा महत्त्वपूर्ण सहरहरू मध्ये एक थियो ।    

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता