पात्रो

रेडियो

समाचार खोजी

जेन–जीलाई लक्षित गर्दै नवप्रविधि र सहभागिता विस्तारमा शिवाकोटीको जोड

शिवाकोटीको जोड: जेन–जीका लागि छुट्टै कार्यक्रम आवश्यक

साझा अर्थ संवाददाता १ असार २०८२, आइतवार

काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जेन–जेड पुस्तालाई लक्षित गर्दै विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताएका छन्।

काठमाडौं क्षेत्र नं. ६ (क) को तेस्रो प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ता सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र नवप्रविधिमा अत्यधिक सक्रिय रहेकाले उनीहरूलाई समेट्न छुट्टै नीति, संवाद र संलग्नता अभियान आवश्यक भएको धारणा राखे।

शिवाकोटीले भविष्यका लागि अल्फा जेनेरेसनलाई समेत लक्षित गर्दै दीर्घकालीन सोचसहित शैक्षिक, सन्देशमूलक र नेतृत्व विकास कार्यक्रम तय गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमको प्रशिक्षण सत्रमा "प्रभावकारी पार्टी सञ्चार र सामाजिक सञ्जालको सदुपयोग" विषयमा प्रशिक्षण दिँदै उनले भ्रमपूर्ण सूचना तथा फेक न्युजको पहिचान गर्न सक्ने क्षमतायुक्त कार्यकर्ता तयार पार्नु आजको आवश्यकता भएको बताए। यस्ता सूचनाहरूको खण्डन वैज्ञानिक, संयमित र तथ्यमा आधारित हुनुपर्नेमा पनि उनले जोड दिए।

सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमार्फत पार्टीका नीतिहरूलाई जनमानसमा प्रभावकारी ढंगले पुर्‍याउन सकिने उल्लेख गर्दै, शिवाकोटीले कार्यकर्ताहरूलाई सचेत, रचनात्मक र सत्यनिष्ठ बन्न आग्रह गरे।

उनले भने, “अबको प्रतिस्पर्धा केवल सडकमा मात्र होइन, स्क्रिन र सोचमा पनि हो। हामीले तथ्य र विश्वासका माध्यमबाट जनताको मन जित्नुपर्छ।”

कार्यक्रममा कांग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानका सदस्य प्रताप पौडेलले पनि प्रशिक्षण दिएका थिए। उनले पार्टीको कार्यगत समन्वय, नीतिगत प्रभावकारिता र राजनीतिक जवाफदेहिताका विषयमा आफ्नो धारणा राखे।

कांग्रेस काठमाडौं क्षेत्र नं. ६ (क) का सभापति ख्याम तिवारीका अनुसार सम्मेलनले संगठन सुदृढीकरण, कार्यकर्ता प्रशिक्षण, नयाँ पुस्तासँगको संवाद र स्थानीय तहमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल गरेको थियो।

274 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता