पात्रो

रेडियो

समाचार खोजी

नवउद्यमशीलता प्रवर्द्धनका लागि अर्थमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

साझा अर्थ संवाददाता ७ जेठ २०८२, बुधवार

काठमाडौं। नेपाली कांग्रेसले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नवउद्यमशीलता प्रवर्द्धनका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ। कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसको संयुक्त पहलमा आयोजित बजेट तथा नीति संवाद कार्यक्रममा तयार पारिएको सुझावपत्र अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बुझाइएको हो।

बजेट निर्माणको तयारीमा रहेका अर्थमन्त्री पौडेललाई नवउद्यम प्रवर्द्धनका लागि स्टार्टअप नीति पूर्ण रूपमा कार्यान्वयन, नवउद्यमीहरूलाई सस्तो ब्याजमा कर्जा, कर छुट लगायतका व्यवस्था गर्न सुझाव दिइएको कांग्रेस केन्द्रीय सदस्य तथा विभाग प्रमुख अजय बाबु शिवाकोटीले जानकारी दिनुभयो।

कर सुधारमा जोड दिँदै उहाँले दोहोरो कर हटाउने, एकद्वार प्रणाली लागू गर्ने, कर कार्यालयमा जवाफदेहिता बढाउने तथा डिजिटल कर प्रणालीको विकास आवश्यक रहेको बताउनुभयो।

अर्थमन्त्रीलाई बुझाइएको सुझावपत्रमा शिक्षा सुधार, कृषि क्षेत्रमा प्राथमिकता, कर प्रणालीको सुधार, तथा उद्यमशीलता प्रवर्द्धन लगायतका रणनीतिक प्रस्तावहरू समावेश छन्। सुझावपत्र बुझ्दै अर्थमन्त्री पौडेलले आगामी बजेटमा उद्यमशीलता, नवप्रवर्तन तथा लघु उद्यमको सशक्तिकरण समेटिने प्रतिबद्धता जनाउनुभयो। त्यसका लागि उचित वातावरण निर्माण र कार्यान्वयन पक्ष सुदृढ बनाइने पनि उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशीलता सम्बन्धी विषयमा सरोकारवालाबीच प्रभावकारी छलफल गरी साझा धारणा बनाउनु आवश्यक रहेको बताउनुभयो। उद्यमशील कांग्रेसका महासचिव मोहन गजुरेलले उद्यमशीलताका मुद्दाहरूको प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई निरन्तर घच्घच्याइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

325 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता