टोकियो, २७ चैत (रासस/एएफपी) : बढ्दो मूल्यलाई स्थिर पार्ने प्रयासमा जापानले जुलाईसम्म आफ्नो आपत्कालीन भण्डारबाट थप चामल बेच्ने कृषिमन्त्रीले बुधबार बताउनुभएको छ ।
चामलको मूल्य वर्षको तुलनामा लगभग दोब्बर भएपछि सरकारले गत महिना आफ्नो भण्डार लिलामी गर्न थालेको थियो । यो सन् १९९५ मा सुरु भएयता पहिलो पटक हो ।
कृषिमन्त्री टाकु इटोले भन्नुभयो, “बढेको चामलको मूल्यलाई स्थिर पार्नका लागि सरकारले यस गर्मीसम्म हरेक महिना आफ्नो आरक्षित चामल बेच्नेछ ।”
सन् २०२३ मा तातो मौसमका कारण खराब फसल र गत वर्ष ‘मेगाक्वेक’ चेतावनीद्वारा उत्पन्न आतङ्कित–खरिद जस्ता कारकहरूले अभाव निम्त्याएको छ ।
उपभोगमा भएको वृद्धिका लागि पर्यटकहरूको रेकर्ड सङ्ख्यालाई पनि दोष लगाइएको छ ।
साथै केही व्यवसायले आफ्नो मौज्दात राखिरहेका र बेच्नका लागि सबैभन्दा उपयुक्त समयको लागि प्रतीक्षा गरिरहेका छन् भनेर सोचिएको छ ।
सरकारले अहिलेसम्म करिब दुई लाख १० हजार टन चामल छुट्याएको छ । अर्को एक लाख टन चामलको लिलामी अप्रिल २१ को हप्तामा हुनेछ ।
मार्च महिनाको अन्तिम हप्तामा पाँच किलोग्राम चामलको खुद्रा मूल्य चार हजार दुई सय छ येन (२९ डलर) थियो । जुन गत वर्षको तुलनामा १०४ दशमलव पाँच प्रतिशतले बढी हो ।
जापानले सन् २०३० सम्म आफ्नो चामल निर्यात लगभग आठ गुणा बढाएर तीन लाख ५० हजार टन पु¥याउने लक्ष्य राखेको सरकारले गत महिना बताएको थियो ।
खानाको बानीमा परिवर्तन आई रोटी, नुडल्स र अन्य ऊर्जाका स्रोतहरू समावेश गरिएकाले जापानमा चामलको उपभोग विगत ६० वर्षमा आधाभन्दा बढी घटेको छ ।
नयाँ लक्ष्य विदेशी चामल ढुवानीलाई बढावा दिन र देशको बुढ्यौली जनसङ्ख्या सङ्कुचित हुँदै जाँदा खेती गर्न अधिक कुशल बनाउने लामो अवधिको राष्ट्रिय नीतिको एक भाग हो ।चामल पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संयुक्त राज्य अमेरिकामा जापानी आयातमा २४ प्रतिशतको भारी भन्सार शुल्कमा एक कारक भएको देखिन्छ ।
ह्वाइट हाउसले जापानमाथि अमेरिकी चामल आयातमा ७०० प्रतिशत कर लगाएको आरोप लगाएको छ । उक्त दाबीलाई इटोले ‘अबुझ’ भनेको उद्धृत गरिएको छ ।
साझा अर्थ संवाददाता