काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा मुलुकमा ऊर्जा क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै मन्त्री खड्काले सो कुरा बताउनु भएको हो ।
मुलुकभर रहेको जलस्रोतको अधिकतम उपयोग गरी सरकारी र निजी क्षेत्रको परस्पर सहयोग तथा समन्वयबाट ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनु जरुरी रहेको बताउँदै खड्काले नेपालको कूल विद्युत् उत्पादन क्षमता तीन हजार २०० मेगावाट पुगेको र गत आर्थिक वर्षमा मात्र करिब चार सय ६३ मेगावाट राष्ट्रिय ग्रिडमा थपिएको जानकारी दिनुभयो । मन्त्री खड्काले सन् २०३५ सम्ममा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्नेतर्फ सम्बद्ध निकायले थप प्रभावकारी रुपमा काम गर्न जरुरी देखिएको बताउनुभयो ।
सरकारले राखेको लक्ष्य पूरा गर्नसकेमा मुलुकमा पर्याप्त ऊर्जा खपत बढाउन सकिने, औधोगिकीकरणको विकास भई पर्याप्त रोजगारी सिर्जना हुने र आन्तरिक ऊर्जाको निर्यातबाट पर्याप्तमात्रामा वैदेशिक मुद्रा आर्जन गर्ने अवसर प्राप्त हुने खडकाको भनाई रहेको छ ।
ऊर्जा क्षेत्रको विकासका लागि आगामी वर्षलाई थप उपलब्धिमूलक वर्षका रुपमा बनाउन थप समर्पण र उपलब्धिका लागि प्राधिकरणको सिङ्गो टोली लाग्ने मन्त्री खड्काको विश्वास छ । मन्त्री खड्काले प्राधिकरणले मुलुकभर सस्तो र भरपर्दो विद्युत् सेवामार्फत नेपालको ऊर्जा क्षेत्रको विकासमा गरेको योगदान सराहनीय रहेको उल्लेख गर्दै प्राधिकरणले लिएको लक्ष्य हासिल गर्न सरकारकोतर्फबाट सदैव सहयोग प्रतिवद्धता समेत खड्काले ब्यक्त गर्नु भएको छ ।
साझा अर्थ संवाददाता