पात्रो

रेडियो

समाचार खोजी

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रमा १७ करोड रुपियाँ लगानी

प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना

साझा अर्थ संवाददाता १ फागुन २०८१, बिहिवार

काठमाडौँ । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडि क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम मार्फत हालसम्म करिब १७ करोड रुपियाँ लगानी गरिएको छ ।  
आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रा.लि.ले एसएसपी, संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तरगत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जर्गेना, राहात वितरण,जीविकोपार्जन तथा आयआर्जनमा बृद्धिलगायतका कार्यक्रममार्फत प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ ।
कोरियन कम्पनीहरुको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१मा भूमिगत विद्युतगृहलगायतका संरचनाहरु निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।
२०७२ सालको विनाकासकारी भूकम्पबाट नराम्ररी प्रभावित भएको आयोजना क्षेत्रमा कम्पनीले भूकम्प पीडितहरुलाई राहत सामग्री वितरण तथा अस्थायी अवास निर्माण, विद्यालय एवम् स्वास्थ्य संस्थाहरुको भवन निर्माण, हेलिकोप्टरमार्फत उद्धार, स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गरेको थियो ।
आयोजना प्रभावित आदिवासी जनजाति समुदायसँग नेपालमै पहिलोपटक स्वतन्त्र, अग्रिम, सुसूचित सहमति लागू गरिएको छ । आदिवासी समुदायको थातथलो, वातावरण र उनीहरुको सांस्कृतिक विशेषतालाई ध्यान दिएर छुट्टै आदिवासी समुदाय योजना कार्यान्वयनमा ल्याएको छ । उक्त योजनामार्फत समुदाय आफैले छनोट गरेका कार्यक्रमहरु सञ्चालन गर्न छुट्टै बजेट व्यवस्था गरिएको छ । यसमार्फत हालसम्म साढे २ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले आयोजना प्रभावितहरुको आर्थिक तथा सामाजिक अवस्थामा सुधार, रोजगारी एवम् जीविकोपार्जन, त्यस क्षेत्रको विकास जस्ता विषयलाई विशेष ध्यान दिएर सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । आयोजनाले स्थानीय बासिन्दाहरुको माग बमोजिम प्राथमिकतामा आधारमा योजनाहरु छनोट गरी सहयोग कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै उहाँले यसलाई निरन्तर रुपमा सञ्चालन गरिने उल्लेख गर्नुभयो ।
आयोजनाले हाकुबेंसीमा त्रिशूली नदीमा बेली ब्रिज निर्माण गर्न सात करोड ८६ लाख १४ हजार रुपियाँ खर्च गरेको छ । पुल निर्माणपछि आमाछोदिङमो गाउँपालिका १ र २ नम्बर वडास्थित हाकु क्षेत्रका बासिन्दा सडकको पहुँचमा पुगी मुख्य रुपमा सदरमुकाम धुन्चे, नुवाकोट र काठमाडौंतर्फ आवतजावत गर्न सजिलो भएको छ । उक्त पुल आयोजना निर्माण कार्यका लागि आवतजावत गर्न पनि प्रयोगमा ल्याइएको छ । प्रभावित क्षेत्रमा सडक निर्माणका लागि १८ लाख ५७ हजार र खर्च गरिएको छ । यसका अतिरिक्त धुन्चे खोलडोल सडक निर्माणका लागि थप ७० लाख रुपियाँ खर्च गरिएको छ ।

110 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता