पात्रो

रेडियो

समाचार खोजी

खुला बजार र प्रतिस्पर्धात्मक जमानामा टेलिकमले आफूलाई समयानुकूल बनाउँदै लैजानुपर्छ

नेपाल टेलिकमको राजधानीमा आयोजित २१औं वार्षिकोत्सव

साझा अर्थ संवाददाता २३ माघ २०८१, बुधवार

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आम्दानीको स्रोत परिवर्तन भएको भन्दै डाटा सर्भिसमा आफूलाई अब्बल बनाउन नेपाल टेलिकमललाई सुझाव दिनुभएको छ ।
नेपाल टेलिकमको राजधानीमा आयोजित २१औं वार्षिकोत्सव समारोहमा उहाँले भन्नुभयो – ‘‘’टेलिकम कम्पनीहरुको राजस्व आम्दानी भ्वाइस सर्भिसभन्दा डाटा सर्भिसमा निर्भर हुनुपरेको कुरा कसैबाट छिपेको छैन । दूरसञ्चार कम्पनीले त्यसमा आफूलाई अग्रसर गराइहाल्नुपर्छ । खुला बजार र प्रतिस्पर्धात्मक जमानामा टेलिकमले आफूलाई समयानुकूल बनाउँदै लैजानुपर्छ भन्ने कुरा स्मरण गराइरहनुपर्ने विषय होइन ।’’
प्रविधिको क्षेत्रमा हुने विकासलाई आत्मसात गरेर अगाडि बढ्न उहाँको सुझाव थियो । मन्त्री गुरूङले  देशलाई डिजिटल युगमा खरो उतार्दै कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा उच्चतम फड्को मार्नुपर्ने बताउनुभयो ।
विश्वमा भएका परिवर्तन र नयाँ नयाँ प्रविधिको विकास, विस्तार र आविष्कार भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो – ‘‘त्यो क्षेत्र पनि सञ्चारकै क्षेत्र हो, सूचना प्रविधिको क्षेत्र हो । त्यसैअनुसार समयको गति नसमात्ने हो भने हामी पर्छाैं । छिनको छिनमै पुरानो र असान्दर्भिक हुन्छ ।’’
टेलिकम सार्वजनिक संस्थान मध्येकै सबैभन्दा गौरवशाली इतिहास बोकेको संस्था भएको उल्लेख गर्दै  मन्त्री गुरुङले हाल दूरसञ्चार क्षेत्रमा बढ्दो चुनौतीसँगै टेलिकमको समेत कार्यदक्षतामा परेको प्रभावको समीक्षा गर्दै सुधार गर्न आवश्यक रहेको कुरा व्यक्त गर्नुभयो । उपभोक्ताको चाहना अनुरुप सेवाहरुको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै सबै स्थानमा फोरजी सेवा पु-याउनका लागि बदलिँदो परिवेशसँग सुहाउँदो सेवाका क्षेत्रहरु पहिहान गरी त्यसतर्फ ध्यान आकर्षण गर्न आग्रह गर्दै मन्त्री गुरुङले ब्रोडब्यान्ड कनेक्सन वडातहसम्म पु¥याउन तथा मर्मत सम्भारको सुविधा चौबिसै घण्टा उपलब्ध गराउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिनुभयो ।
नेपाल सरकारले समयसापेक्ष रुपमा दूरसञ्चार सम्बन्धी नीति नियममा परिमार्जन गर्दै टेलिकमको व्यवस्थित सञ्चालनका लागि सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय बृद्धिको लागि सेवाको विस्तारसँगै गुणस्तर सुधारमा ध्यान दिन निर्देशन दिनुभयो । विश्व सिक्सजी इन्टरनेटको अभ्यास गर्ने तरखरमा रहेको भन्दै उहाँले टेलिकमले ठूला सहरमा तत्कालै फाइभजी सेवा सुरु गर्नुपर्ने बताउनुभयो ।
सेवा विस्तारका सन्दर्भमा हरेक घरमा फोरजी कभरेज पु¥याउने लक्ष्यमा टेलिकमलाई सफलता छिटै प्राप्त हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो – ‘‘स्थानीय तह र वडासम्म ब्रोडब्यान्ड कनेक्सन पु¥याउने कार्यलाई टेलिकमले प्राथमिकतासाथ पूरा गर्नुपर्ने छ । ग्राहकहरुको सेवाका लागि २४ सै घन्टा मर्मत सम्भारको सुविधा पनि नेपाल टेलिकमले दिने विश्वास गरेको छु ।’’
सरकारी स्वामित्वमा रहेका कम्पनीमा सर्वसधारणको २५ प्रतिशत स्वामित्व बृद्धि गर्ने सरकारको तयारी रहेको मन्त्री गुरुङले बताउनुभयो । सरकारले सार्वजनिक संस्थान सुधार हुन नसकेकाले अब नेपाल टेलिकम तथा नेपाल विद्युत प्राधिकरण जस्ता संस्थामा सर्वसाधरणको स्वामित्व २५ प्रतिशत पु¥याउने योजना सरकारको रहेको बताउनुभयो ।
टेलिकमको ९२ प्रतिशत सेयर सरकारको र आठ प्रतिशत मात्रै सर्वसाधरणको रहेको भन्दै अब कम्तिमा पनि २५ प्रतिशत सर्वसाधरणको सेयर पु¥याउन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री गुरुङले सरकारीलाई कम्पनीलाई हेर्ने दृष्टिकोण फरक भएकाले सर्वसाधरणको स्वामित्व बृद्धि गरी जनताले आफ्नो पनि अपनत्व अनुभव गराउन स्वामित्व बृद्धि गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले संस्थामा जनताको निगरानी बढ्ने र व्यवस्थापनलाई पनि सर्वसाधरण जनता र ग्राहकप्रति संवेदशील भएर पारदर्शीता कायम गर्नुपर्ने सचेत गराउने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले सर्वसुलभ रूपमा आम उपभोक्ताहरूलाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने क्रममा देशका भौगोलिक रूपमा अत्यन्त विकट र दुर्गम स्थानमा समेत सेवाको पहुँच विस्तार गर्न नेपाल टेलिकमको योगदानको प्रशंसा गर्नुभयो ।
आगामी दिनमा बजारको प्रतिस्पर्धा र ग्राहक वर्गको आवश्यकता बमोजिम सेवाको विविधीकरण गर्दै उचित बजारीकरण रणनीति अपनाएर ग्राहकका गुनासाहरुलाई शीघ्र सम्बोधन गर्न र कर्मचारी परिचालनमा तथा कार्य संस्कृतिमा समयानुकूल सुधार गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।
साथै उहाँले समस्त देशवासीलाई दूरसञ्चार सेवाको सहज उपभोग गर्न पाउने अवस्थाको सुनिश्चितता गर्दै डिजिटल विभाजन न्यूनीकरण गर्दै मुलुकलाई डिजिटलाइजेसन गर्ने सरकारको योजनामा अझै योगदान गर्न कम्पनी सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले सेवाको गुणस्तर सुधारका लागि फोरजीको क्षमता र विस्तारमा आक्रामक बन्न सुझाव दिनुभयो ।
टेलिकमको ग्राहक सेवामा व्यापक सुधारको आवश्यकता औल्याउँदै जहाँ गएपनि टेलिकमको ग्राहक सेवाको विषयमा आलोचना सुन्नु परिरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । आलोचनालाई ध्यान दिएर सेवामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले फाइभजी छिटोभन्दा छिटो प्रयोगमा ल्याउन टेलिकमलाई आग्रह गर्नुभयो ।
दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम हालसम्म अग्रणी भूमिकामा रहेको र आगामी दिनमा पनि अग्रणी स्थानमा रहेर सेवा प्रदान गर्न सक्षम रहनेगरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।
टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले मुलुकको ७७ वटै जिल्लामा फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर बृद्धि भइरहेको र फोरजी डाटाको खपत उल्लेखनीय रूपमा बृद्धि भई हाल कुल मोबाइल डाटा खपतको ९० प्रतिशत भन्दा बढी हिस्सा फोरजी सेवाले ओगटेको बताउनुभयो । उहाँले ग्रामिण दूरसञ्चार विकास कोष मार्फत जडान भएका अप्टिकल फाइबर नेटवर्कहरुको सह–प्रयोगको थालनी गरिएको, हाइवे नेटवर्क सुधारको कार्य निरन्तर अगाडि बढिरहेको र यथाशीघ्र फाइभजी प्रविधि भित्र्याउने तर्फ प्राथमिकताका साथ कार्य भइरहेको समेत बताउनुभयो । साथसाथै वार्षिकोत्सवको अवसरमा आजकै दिन देखि भोवाइफाई सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको र नेपाल टेलिकम एप र वेबसाइट मार्फत इसीम सहजै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोले ग्राहकले अब इसीम लिनको लागि काउन्टरसम्म धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।
कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रादेशिक निर्देशनालय, उप–प्रादेशिक निर्देशनालय नेपालगञ्ज र वायरलेस सेवा निर्देशनालयबाट सबैभन्दा बढी रकमको कारोबार गर्ने रिचार्जकार्ड बिक्रेताहरु तथा कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरुका साथै आइभीआर १९८ मा मर्मतका लागि गुनासो दर्ता भई सोही दिन अत्यधिक लाइन मर्मत गर्ने सातै प्रदेशका १-१ दूरसञ्चार कार्यालयलाई सम्मान गरिएको थियो । साथै, कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

110 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता