काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा कुल आन्तरिक कर्जा १.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.६ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा यस्तो कर्जा ४.८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १८.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ८.३ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा यस्तो दाबी ७.१ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.५ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.९ प्रतिशतले बढेको छ ।
साझा अर्थ संवाददाता