काठमाडौं । च्यातिएका, पुराना र झुत्रा बैंक नोट साट्न ल्याउन आम सर्वसाधारणलाई नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ ।
च्यातिएका, पुराना र झुत्रा बैंक नोट साट्न सकिने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले वित्तीय चेतनाका लागि जारी गरेको सूचनाअनुसार आफूसँग भएको च्यातिएको, मकिएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रंगिएको नोटलाई साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
यस्ता नोट राष्ट्र बैङ्कको मुद्रण व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालय र नोटकोष सञ्चालन गर्ने वाणिज्य बैङ्क (राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्क) बाट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
तर धेरै केरमेट भएको, नोटको दर र पूरा नम्बर यकिन गर्न नसकिने तथा ५० प्रतिशतभन्दा कम भाग भएको (दोहोरो सट्टाभर्ना जानसक्ने सम्भावना भएको) नोटको भने सट्टाभर्ना अर्थात् सटही नगरिने राष्ट्र बैङ्कको भनाई छ । त्यस्ता नोट जफत गरिने र सोको कारणसहितको जानकारी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइने राष्ट्र बैङ्कले जनाएको छ । त्यस्ता झुत्रो बैङ्क नोटहरु नोट साट्न नसकिन र जफत पनि हुन सक्ने राष्ट्र बैङ्कको भनाई छ ।
‘‘नोटहरु धेरै मकिएको, गन्न असजिलो हुने अवस्थामा रहेको वा सग्लो नभएको अवस्था छ भने साट्नको लागि झुत्रो नोटको पछाडिको भागमा सोही दरको सिंगो नोटबराबरको कागजको टुक्रा टाँसी साट्न सकिन्छ ।’’ राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ । साथै नोटलाई चाँडै झुत्रो हुनबाट बचाउन जतन गरी प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
साझा अर्थ संवाददाता