काठमाडौं। आजरबुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भने ६.५३ अंक बढ्दै २६५३.३८ बिन्दुमा पुगेको छ । पछिल्लो ६ कारोबार दिन लगातार नेप्सले उकालो यात्रा समातेको छ । मंगलबार नेप्से ६.१६ अंकले बढेको थियो। त्यसअघि सोमबार नेप्से ४९.१२ अंकले, आइतबार ५.३२ अंकले गत साताको अन्तिम कारोबार दिन बिहीबार ४.६३ अंकले र बुधबार ५.१० अंकले बढेको थियो।
बुधबार कारोबार रकममा पनि सुधार आएर कुल ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्सेमा कुल ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार फाइनान्स समूहमा सर्वाधिक अर्थात् ४.७७ प्रतिशतको सुधार आउँदा विकास बैंक समूहमा २.५३ प्रतिशतको वृद्धि आएको छ।
फाइनान्स र विकास बैंकपछि लघुवित्त समूहमा पनि लगानीकर्ताको आकर्षणमा देखिएको छ। लघुवित्त समूह १.५९ प्रतिशतले बढ्दा जलविद्युत् समूह ०.२६ प्रतिशत, जीवन बिमा समूह ०.४० प्रतिशत र उत्पादन समूह ०.४० प्रतिशतले बढेको छ।
बुधबार बैंकिङ समूहमा ०.२६ प्रतिशतको गिरावट आउँदा होटल तथा पर्यटन समूह ०.०६, लगानी समूह ०.३८, निर्जीवन बिमा समूह ०.१३ प्रतिशत र व्यापार समूह १.५६ प्रतिशतले घटेको छ।
साझा अर्थ संवाददाता