मनाङमा निर्माण हुने ४९.९५ मेगावाटको दानाखोला जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन सम्झौता भएको छ । परियोजनामा सानिमा बैंंकको नेतृत्वमा ६ बैंकको सात अर्ब ४७ करोड ऋण लगानी हुने भएको छ । प्रवर्द्धक लालुपाते हाइड्रोपावर प्रालिका अध्यक्ष मोहनकुमार डाँगी र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सानिमा बैंकले एक अर्ब ९७ करोड, नबिल बैंकले एक अर्ब ५० करोड रुपैयाँ ऋण दिनेछ । योबाहेक सिटिजन, राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकले एक–एक अर्ब रुपैयाँ ऋण दिनेछन् । त्यस्तै, एचआइडिसिएल र नेपाल एसबिआई बैंकले एक–एक अर्ब ऋण दिने प्रतिबद्धता जनाएका छन् । एचआइडिसिएल र एसबिआईमध्ये कुनै एकबाट मात्रै ऋण लगानी हुनेछ । सबै बैंकबाट ऋण लिँदा आठ अर्ब ४७ करोड पुग्छ ।
आयोजनाको कुल लागत अनुमान भने नौ अर्ब ९६ करोड रुपैयाँ छ । त्यसमा ७५ प्रतिशत रकम बैंकको ऋणमार्फत जुटाइएको हो । बाँकी २५ प्रतिशत अर्थात् दुई अर्ब ४९ करोड रुपैयाँ भने प्रवर्द्धकहरूले स्वःपुँजीका रूपमा लगानी गर्नेछन् । त्यसमा २४ करोड ९० लाख रुपैयाँको स्थानीय र ४९ करोड ८० लाख रुपैयाँको सर्वसाधारणलाई सेयर बिक्री गरिनेछ । त्योअनुसार संस्थापक प्रवर्द्धकहरूबाट एक अर्ब ७४ करोड ३० लाख रुपैयाँ सेयर पुँजी संकलन गरे पुग्नेछ । त्यसमा हालसम्म एक अर्ब रुपैयाँ संकलन भइसकेको छ । त्यसमा ८३ करोड रुपैयाँ परियोजना निर्माणको पूर्वतयारीलगायतमा खर्च भइसकेको छ ।
कम्पनीका अनुसार आयोजनास्थलमा विद्युत्गृह क्याम्प, आर्मी क्याम्प निर्माण सम्पन्न भएका छन् । पहँुचमार्ग निर्माण द्रुतगतिमा भइरहेको छ । आयोजनाका लागि आवश्यक निजी जग्गा खरिद गरिएको छ । आयोजनालाई आवश्यक पर्ने ४.८ हेक्टर जग्गा मन्त्रिपरिषद्मा जाने प्रक्रियामा रहेको छ ।
कम्पनीले ठेक्का प्रक्रियालाई पारदर्शी बनाउन आशयपत्र आह्वान गरिसकिएको छ । अब ठेकदार छनोट गरेर एक महिनाभित्र सिभिल र तीन महिनाभित्र हाइड्रो तथा इलेक्ट्रिकल मेकानिकलको निर्माण अघि बढाउने कम्पनीको योजना छ । ०८४ कात्तिकभित्र आयोजना सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
साझा अर्थ संवाददाता